• ४ मंसिर २०८१, मङ्गलबार

सामुदायिक वनमा ‘रिचार्ज पोखरी’

blog

मेलौली नगरपालिका–९ स्थित स्थानीय सामुदायिक वनमा पानी पुनर्भरण पोखरी निर्माण गरिँदै । तस्बिर : गोकर्ण दयाल

बैतडी समाचारदाता

बैतडी, असोज ५ गते । जलवायु परिवर्तनका कारण पानीका मुहान सुक्न थालेपछि विशालपुरवासी पानी पुनर्भरण पोखरी निर्माणमा जुटेका छन् । स्थानीयवासीले दुई वटा सामुदायिक वनमा १५ वटा रिचार्ज पोखरी निर्माण गरेका छन् । जलवायु परिवर्तनका कारण पानीका मुहान सुक्न थालेपछि मेलौली नगरपालिका–९, विशालपुरले पर्यावरणीय सन्तुलन कायम गर्न सामुदायिक नीति, २०८१ जारी गरेर पोखरी निर्माण सुरु गरेको हो ।

वडाको सामुदायिक नीति घोषणा गरेर पानीका मुहान संरक्षण गर्न वनजङ्गलमा रिचार्ज पोखरी निर्माण, जलवायु अनुकूलन खेती र मूल बिउ जोगाउँदै वातावरण संरक्षण गर्न पाँच हजार वृक्षरोपण गरिएको वडाध्यक्ष लोकराज भट्टले बताउनुभयो । गाउँमा खाद्य सङ्कट, खडेरी, बेरोजगारी र बसाइँसराइको दर बढ्न थालेपछि समुदाय र वडा कार्यालयको साझेदारीमा सामुदायिक नीति घोषणा गरिएको वडाध्यक्ष भट्टले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सामुदायिक नीति अनुसार विशालपुरको असुर–मौजा र कोलतडा सामुदायिक वनमा १५ वटा पानी पुनर्भरण पोखरी निर्माण गरेका छौँ । पोखरी निर्माणको काम सकिएपछि पोखरी वरिपरि केराको बोट रोप्ने तयारीमा छौँ । ”

केही वर्षअघि विशालपुर गाउँका ३५६ परिवार कोदो खेती गर्दै आएकामा खडेरीका कारण अहिले जम्मा ६० परिवारले मात्रै कोदो खेती गरेका छन् । गाउँमा भएका पानीका मुहान सुक्न थालेका छन् । लामो खडेरी पर्दा अधिकांश जग्गा बाँझो रहेको छ ।  वडा कार्यालयलाई सामुदायिक नीति बनाउन राष्ट्रिय भूमि अधिकार मञ्च नेपालले प्राविधिक सहयोग गरेको स्रोतव्यक्ति नरीराम लोहारले बताउनुभयो । सामुदायिक नीति बनाउनुअघि वडाको तथ्याङ्क लिइएको छ ।  

तथ्याङ्क अनुसार उत्पादन र खर्चको अनुपातमा ठुलो अन्तर देखा परेको छ । वडाका ३५६ परिवारको  वार्षिक आम्दानी एक करोड १२ लाख सात हजार २३२ रुपियाँ रहेको छ भने खर्च तीन करोड २८ हजार ३८२ रुपियाँ रहेको छ । चामलमा मात्रै वडावासीले ९० लाख ४५ हजार ५२० रुपियाँ खर्च गर्दै आइरहेको राष्ट्रिय भूमि अधिकार मञ्च नेपालका स्रोतव्यक्ति नरीराम लोहारले बताउनुभयो ।  

गाउँमा सडक पुगेपछि बाहिरबाट खाद्यान्न आउन थालेको छ । घरपरिवारका लागि खाद्यान्न किन्न युवा विदेशमा रोजगारी खोज्न हिँडेका छन् । तथ्याङ्क अनुसार विशालपुरका ४२९ घरपरिवारमध्ये ७३ परिवार बसाइँसराइ गरेर तराई झरेका छन् । बाँकी रहेका ३५६ परिवारलाई वर्षभरि दुई लाख १० हजार ५४५ किलो खाद्यान्न आवश्यक पर्ने गरेकोमा वडाका ४२ गाउँटोलमा वार्षिक ४६ हजार किलो मात्रै खाद्यान्न उत्पादन हुने गरेको छ । एक लाख ६४ हजार ४६४ किलो खाद्यान्न किनेर खानुपर्ने अवस्था रहेको छ । 

वडा कार्यालयले जारी गरेको सामुदायिक नीतिले गाउँमै सम्भावना र समाधान खोज्ने जनाएको छ । वनजङ्गलमा पानी पुनर्भरण पोखरी निर्माण गरेर विशालपुर क्षेत्रको धान फल्ने सुर्नया नदी किनारको कोलतडी, काँकडी र मेलघाटमा रहेको बाँझो जग्गामा धान खेती गरेर चामलमा आत्मनिर्भर बन्ने लक्ष्य राखिएको छ । त्यसै गरी रोकटादेखिको मध्यभूभागमा आँप, लिची र मेवाखेती गर्न सकिने बताइएको छ । उच्च लेकाली भूभागमा ओखर, कागती र सुक्खा फलफूलखेती गर्न सकिने सम्भावना खोजी गरिएको वडा सदस्य चेतराम नेपालीले बताउनुभयो । वडा सदस्य नेपालीले यो वर्ष विशालपुर क्षेत्रको टिकको लेकमा सामुदायिक वन उपभोक्ता समूहले खाली जग्गामा काफल, टिमुर, तेजपत्ता, बाँसलगायतका पाँच हजार बिरुवा रोपेको जानकारी दिनुभयो ।