• ११ असोज २०८१, शुक्रबार

आँखाको उपचार पद्धतिलाई प्राथमिकतामा राख्नुस् : स्वास्थ्यमन्त्री

blog

भरतपुर आँखा अस्पतालको निरीक्षणमा पुग्नु भएका स्वास्थ्य मन्त्री प्रदिप पौडेललाई स्वागत गरिँदै । तस्बिर : वसन्त पराजुली

वसन्त पराजुली
नारायणगढ, असोज ४ गते ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले आँखाको उपचार पद्धतिलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ । भरतपुर आँखा अस्पतालको शुक्रबार निरीक्षण गर्नुहुँदै उहाँले आँखाको उपचार पद्धतिलाई थप प्रभावकारी गर्न सरकार साझेदारी गर्न तयार रहेको बताउनुभयो ।

“आँखामा हुने समस्या, आँखा गुम्ने जोखिम, आँखाको रक्षा गर्ने काम उपचार पद्धतिसँग जोडिएको विषय हो । आँखा नभएको शरिर पूर्ण हुन सक्दैन”, उहाँले भन्नुभयो, “शरीरको पूर्णताका लागि पनि आँखा जोगाउने, उपचार गर्ने जोखिममा पुग्ने स्थिति बनाउन नदिनका लागि उपचार पद्धतिलाई प्राथमिकतामा राख्नुपर्छ ।”

भरतपुरको आँखा अस्पताल तुलनात्मक रुपमा व्यवस्थित ढङ्गबाट  अगाडि बढेको बताउनुहुँदै उहाँले गैर सरकारी संस्थाहरुको पहलमा आँखा उपचार सेवा प्रभावकारी हुन पुगेको भन्दै नेपाल नेत्रज्योति सङ्घलाई धन्यवाद दिनुभयो । उहाँले सरकारले पनि आँखा उपचारलाई प्राथमिकतामा राख्ने धारणा पनि राख्नुभयो ।

उहाँले देशैभरका आँखा अस्पतालहरुमा जनशक्ति व्यवस्थापन चुनौतीपूर्ण भएको बताउनुभयो ।

“देशमा अहिले दक्ष जनशक्तिको अभाव छ । यसको व्यवस्थापन गर्न आवश्यक छ । जनशक्ति उत्पादनकालागि  धेरै काम गर्न पर्ने आवश्यकता छ । यो सरकार एक्लैले भन्दा पनि विभिन्न सामाजिक सङ्घ संस्थाहरुसँग सहकार्य गरेर अगाडि बढ्न जरुरी छ”, उहाँले भन्नुभयो । 

निरीक्षणका क्रममा नेत्रज्योति सङ्घका केन्द्रीय उपाध्यक्ष ऋषिराम पौडेलले भरतपुर आँखा अस्पतालले बिमाबाट पाउने पैसा नपाएको गुनासो गर्नुभयो । यस अघि भरतपुर विमानस्थलमा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले बिमालाई थप व्यवस्थित वनाउने जानकारी दिनुभएको थियो ।

“स्वास्थ्य सेवा प्रभावकारी बनाउन नागरिकलाई स्वास्थ्य सेवा सहजरुपमा उपलब्ध गराउन, बिमालाई व्यवस्थित बनाउन औषधीको मूल्य समायोजन गर्न लगाएतका थुप्रै कुरा ल्याएका छौं । ती कार्यान्वयन हुँदै जानेछ”, उहाँले भन्नुभयो, “स्वास्थ्य बिमालाई पाँच लाख बनाउने मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषदबाट पास भएर कार्यान्वयनमा गयो भने सर्वसाधरणका सबै स्वास्थ्य सेवा सहज र प्रभावकारी हुनेछ ।”

उहाँले सरकारी अस्पतालमा काम गर्ने समयमा चिकित्सकहरु निजी अस्पतालमा जाने काम भने अब रोकिने बताउनुभयो । “सरकारी अस्पतालको काम गर्नेे अवधिमा सरकारी अस्पतालमा नै चिकित्सकहरु उपलब्ध हुनुपर्छ”, उहाँले भन्नुभयो ।

मन्त्रालयले स्वास्थ्य क्षेत्रको सुधारका लागि जारी निर्देशिका अस्पताल र विभागहरुमा कार्यान्वयनको चरणमा रहेको पनि उहाँले बताउनुभयो । मन्त्री पौडेलले शुक्रबार नै चितवन मेडिकल कलेजको पनि निरीक्षण गर्नुभएको थियो ।