• ११ असोज २०८१, शुक्रबार

वातावरणमैत्री व्यवहार आवश्यक छ : मुख्यमन्त्री आचार्य

blog

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य कार्यक्रममा ।

दिवाकर पोख्रेल

देउखुरी,  असोज ४ गते । लुम्बिनी प्रदेश सरकारले विभिन्न कार्यक्रम गरेर संविधान दिवस सम्पन्न गरेको छ । असोज २, ३ र ४ गते तीन दिन विभिन्न कार्यक्रम गरेर संविधान दिवस मनाइएको हो । 

दिवसको अन्तिम दिन शुक्रबार वृक्षरोपण गरेर संविधान दिवस औपचारिक रुपमा समापन गरिएको छ । राप्ती गाउँपालिका –३ स्थित घण्टदेव सामुदायिक वन क्षेत्रमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वृक्षरोपण गर्दै संविधान दिवसको अवसरमा आयोजित सबै औपचारिक कार्यक्रम सम्पन्न भएको घोषणा गर्नुभयो । 

दिवसलाई भव्य बनाउन सहयोग गर्ने आम सर्वसाधारण नागरिकसहित सरोकारवाला पक्ष सबैमा धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले भन्नुभयो, ‘संविधान दिवसलाई भब्य बनाउन सहयोग गर्न सबैप्रति आभार व्यक्त गर्दछु ।’ 

वन, वातावरण तथा जैविक विविधताको संरक्षणबाट मात्र पारिस्थितिक प्रणाली जोगाई राख्न सकिने बताउनुभयो । यसका लागि वातावरणमैत्री व्यवहार गर्न सबैमा आग्रह गर्नुभयो । प्रमुख सचिव महादेव पन्थले वृक्षरोपणले संविधान दिवसको सान्दर्भिकता पुष्टि गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘एउटा बिरुवाको हुर्काइसँग त्यसको भविष्य जोडिएको हुन्छ । जसरी आज बिरुवा रोपिएको छ । यसको हेरचाह र व्यवस्थापना गरेको खण्डमा यसको आयु र हुर्काइ छिटो हुन्छ ।’

त्यसैगरी संविधान पनि एउटा बिरुवाजस्तै परिपक्व र त्यसले सबैलाई लाभ दिंदै जाने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘संविधानलाई कार्यान्वयन गर्दै यसले दिने उपलब्धिलाई नागरिकमाझ पुगाउनुपर्नेछ ।’ लुम्बिनीमा असोज ३ गते संविधान दिवस मूल समारोह आयोजना गरिएको थियो । 

त्यसअघि असोज २ गते प्रदेशस्थित सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा फहराइएको थियो । कार्यालय परिसरमा सरसफाइ, स्वास्थ्य मन्त्रालयको समन्वयमा रक्तदान गरिएको थियो । संविधान कार्यान्वयनको पहिलो दशकः उपलब्धि र चुनौती बिषय विज्ञसँग छलफल गरेर निकासको खोजी गरिएको छ ।