• ११ असोज २०८१, शुक्रबार

खसीबोकाको किनबेच सुरु

blog

सर्लाही समाचारदाता

सर्लाही, असोज ४ गते । दसैँ नजिकिएसँगै खसीबोकाको किनबेच सुरु भएको छ । चाडपर्वमा हुने खर्च जुटाउन किसानले गाउँ गाउँबाट बजारमा ल्याएर खसीबोका बेच्न सुरु गरेका छन् । सर्लाहीमा लालबन्दी, हरिवन, बयलबास र बरहथवा बजारमा दसैँलक्षित गरी खसीबोकाको किनबेच सुरु भएको हो । लालबन्दी बजारका व्यापारी किरण साहले दसैँकै लागि भनेर अहिलेदेखि नै किसानले बजारमा खसीबोका ल्याउन सुरु गरेको बताउनुभयो । उहाँका अनुसार स्थानीय व्यापारी आफैँ पनि खसीबोका खोज्दै गाउँ पस्न सुरु गरेका छन् । 

केही व्यापारीले गाउँघरमा पुगेर किसानलाई खसीबोकाको मूल्य तोकेर अग्रिम भुक्तानी गरी फर्किने गरेका छन् । त्यसरी पहिले नै पैसा भुक्तानी गरिएको खसीबोका दसैँ सुरु भएपछि बजारमा ल्याएर बेच्ने व्यापारीको तयारी छ । दसैँ आउनुभन्दा केही साताअघि नै खसीबोका किनेर राख्नेहरू भने अहिलेदेखि नै बजार आउन थालेका व्यापारीको भनाइ छ । आर्थिक मन्दीका कारण गत वर्ष किसानले पालेको खसीबोका बिक्री गर्नै समस्या परेको थियो । 

दसैँखर्च जुटाउन अन्य उपाय नै नभएपछि धेरै किसानले सस्तो मूल्यमा खसीबोका बिक्री गर्नु परेको थियो । बिहीबार लालबन्दी खसीबजार आएका लालबन्दी नगरपालिका–१६, परवानीपुर भोर्लेनीका भीमबहादुर कार्कीले यस वर्ष पनि खसीबोकाको भाउ निकै सस्तो पाएको बताउनुभयो । 

दसैँका लागि भनेर डेढ वर्ष पालेर हुर्काएका तीन वटा खसी बजार ल्याएर बेच्न भनी भाउ बुझ्न आए पनि बजारभाउले चिन्तित तुल्याएको कार्कीको भनाइ छ । उहाँले १० धार्नीको खसी २० हजार रुपियाँमा पनि बिक्री नहुने अवस्था देखिएको गुनासो गर्नुभयो ।

बजारमा खसी बेच्न आएका आफूजस्ता अन्य किसान पनि मूल्य नहुँदा निराश भएका कार्कीले बताउनुभएको छ । सर्लाहीमा विशेष गरी चुरे भेगबाट धेरै मात्रामा खसीबोका बजारमा भित्रिने गरेको छ । व्यावसायिक रूपमा बाख्रापालन धेरै हुने चुरे भेगमा व्यापारी आफैँसमेत डाँडापाखा पुगेर खसीबोका खरिद गर्ने गरेका छन् ।