• २ असोज २०८१, बुधबार

संविधान दिवसमा नेपालगन्ज १० किमी नाइट रन

blog

नेपालगन्ज १० किमि नाइट रनको टिसर्ट सार्वजनिक गरिँदै । तस्बिर : गोरखापत्र

कमल खत्री

धम्बोझी, असोज २ गते । दसौँ धारा नेपालगन्ज म्याराथनको प्रिइभेन्टका रूपमा हुन लागेको नेपालगन्ज १० किमी नाइट रनको टिसर्ट सार्वजनिक गरिएको छ ।

संविधान दिवसका अवसरमा असोज ३ गते राति हुने दौडको टिसर्ट नेपालगन्ज म्याराथनका संस्थापक निर्देशक टीएस ठकुरी, आटरिच म्यानेजर चाहना शाह, लुम्बिनी खेलकुद परिषद्का सदस्य डिबी तामाङ, बाँके जिल्ला एथलेटिक्स सङ्घका अध्यक्ष राजेन्द्र शाही र नेपालगन्ज म्याराथनका आइटी कन्सल्ट्यान्ट भानु रेग्मीले संयुक्त रूपमा सार्वजनिक गर्नुभयो ।

टिसर्ट सार्वजनिक कार्यक्रममा संस्थापक निर्देशक टीएस ठकुरीले नेपालगन्ज म्याराथनको एक दशक यात्राको लागि दसौँमा दस इभेन्टुका बारेमा विस्तृत जानकारी दिनुभएको थियो । असोज ३ गते नाइट रन सम्पन्न भएपछि ५ गते शनिबारदेखि साप्ताहिक रन सुरु हुने उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘दस हप्तामा चार, २५ हप्तामा तीन जना, ५० हप्तामा दुई जना र ७५ हप्तामा एक एक जना पुरस्कृत गरिनेछ । एक सय हप्ता पूरा गर्ने एक जनालाई कुनै अन्तर्राष्ट्रिय म्याराथनमा अवसर प्रदान गरिनेछ  । पहिलो चरणमा नेपालगन्ज, कोहलपुर र खजुरामा साप्ताहिक रन सुरु गरिनेछ ।’ 

रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले यसको प्रमुख कमान्ड सम्हाल्नुहुनेछ । बाँके जिल्ला एथलेटिक्स सङ्घले यसमा सहकार्य गर्नेछ । म्याराथनका वरिष्ठ सदस्यहरू हृदयकृष्ण मास्के, चन्द्रबहादुर राना, सुनिल विष्ट, सुमन बस्नेत, गगन थापाले साप्ताहिक रनमा भोलन्टियर सेवा प्रदान गर्नेछन् ।

असोज दोस्रो हप्तादेखि स्कुल कलेजमा लेक्चर सिरिज सञ्चालन गरिनेछ । आउटबिच म्यानेजर चाहना शाहले यसको नेतृत्व गर्नु हुनेछ । त्यसैगरी कात्तिक पहिलो हप्ता हुने गौघाट ग्रिन रनको संयोजन डिबी तामाङले र मङ्सिर ५ गते हुने दीप प्रज्वलन कार्यक्रमको संयोजन सुमनसिंह बस्नेतले गर्ने जानकारी दिइयो । 

त्यस्तै फोटो प्रदर्शनीका लागि पहिलोदेखि नवौँ संस्करणसम्मका उत्कृष्ट तस्बिर सङ्कलनका लागि गगन थापालाई जिम्मेवारी दिइएको छ । त्यस्तै मङ्सिर २० र २१ गते म्याराथन एक्स्पो र नेपालगन्ज कनक्लेव हुनेछ । यसमा विभिन्न व्यक्ति तथा सङ्घसंस्थालाई दशक रत्न सम्मान प्रदान गरिनेछ । दसौँ कार्यक्रमका रूपमा दसौँ धारा नेपालगन्ज म्याराथन मङ्सिर २२ गते शनिबार हुने पत्रकार भेटमा जानकारी गराइयो । 

विस्तृत शान्ति सम्झौता भएको दिन मङ्सिर ५ लाई स्मरण गर्दै हरेक मङ्सिरको पहिलो शनिबार हुँदै आएको नेपालगन्ज म्याराथन यश वर्ष कर्णालीमा हुने दसौँ राष्ट्रिय खेलकुदका कारण केही पछाडि सारिएको आयोजकले जनाएको छ ।