• २ असोज २०८१, बुधबार

अस्पतालका लागि भवन निर्माण अन्तिम चरणमा

blog

रास्कोटमा निर्माण हुँदै गरेको नगर अस्पताल भवन । तस्बिर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालीकोट, असोज २ गते । कालीकोटको रास्कोट नगरपालिकामा अर्को अस्पताल निर्माणको काम भइरहेको छ । नगर सरकारले अस्पताल निर्माणका लागि बाटो खोलेपछि निर्माणको काम भइरहेको हो । 

२०७८ सालमा अस्पताल निर्माणका लागि सङ्घ सरकारले बजेट पठाए पनि नगरपालिकामा नगरकै स्वामित्वमा रहेको रास्कोट सामुदायिक अस्पताल भएकाले अर्को निर्माण गरिरहनु नपर्ने मन्त्रालयले परिपत्र गरेको थियो । 

पछिल्लो नगर सरकारको जोडबलमा नगरपालिकामा अर्को अस्पताल निर्माण सुरु भएको हो । २०७९ सालदेखि अस्पताल निर्माणको काम सुरु भएर अहिले अन्तिम चरणमा पुगेको छ । 

मन्त्रालयको परिपत्रले ठेक्का रोकिएको भए पनि पुन २०७९ सालमा निर्वाचित नगर सरकारले मन्त्रालयलाई पत्र लेख्दै दुई अस्पताल सञ्चालन गर्न सक्षम भएको दाबी गरेका कारण अर्को अस्पताल निर्माण सुरु भएको थियो । 

स्थानीय गोकर्ण सज्यालले स्युनाका नागरिकले निःशुल्क जग्गा दिएर नागरिककै लगानीमा बनेको रास्कोट सामुदायिक अस्पताललाई अलपत्र पार्नका लागि राजनीति भएको बताउनुभयो । गौतुकोटको अस्पताल उतिबेलै नगर सरकारलाई हस्तान्तरण गरिसकेको र नगरकै स्वामित्वमा भएकाले उसैलाई थप स्तरवृद्धि गर्नुको सट्टा अर्को अस्पताल निर्माण गरेर नागरिकबिच विवाद ल्याउन खोजेको बताउनुभयो । 

रास्कोट नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत जवानसिंह बमले अस्पताल सञ्चालनकै लागि निर्माण भइरहेको प्रतिक्रिया दिनुभयो । उहाँले सङ्घ सरकारले जतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीले तीनसय बढी स्थानीय तहमा निर्माण हुने अस्पतालको शिलान्यास गर्नु भएको थियो, सो सूचीमा रास्कोटमा निर्माणाधीन अस्पताल पनि परेको बताउनुभयो ।