• १ असोज २०८१, मङ्गलबार

अन्तर वडा फुटसल सुरु

blog

अन्तर वडा फुटसल प्रतियोगितामा प्रतिस्पर्धा गर्दै खेलाडी ।

काठमाडौँ, असोज १ गते । काठमाडौँ, महानगरपालिकाले दोस्रो प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । 

लैनचौर फुटसल मैदानमा मङ्गलबार भएको उद्घाटन खेलमा काठमाडौँ महानगरपालिकाले आयोजक वडा नं २३ लाई टाइब्रेकरमा २–१ गोलले हरायो । पहिलो दिन भएका अन्य खेलमा वडा नं २ र वडा नं ६ ले पनि जित हासिल गरे ।

काठमाडौँ महानगरपालिका र वडा नं २३ ले निर्धारीत समयको खेलमा १–१ को बराबरीमा खेलेका थिए । अनुप प्रधानले काठमाडौँ महानगरपालिकालाई अग्रता दिलाउनुभएको थियो । वडा नं २३ का राजीव चित्रकारले बराबरी गोल गर्नुभयो त्यसपछि जित हारको छिनोफानोका लागि भएको पेनाल्टी सुटआउटमा काठमाडौँ महानगरपालिकाले जित हासिल गरी प्रिक्वाटरफाइनलमा स्थान बनाए । सो खेलमा अनुप म्यान अफ दि म्याच बन्नुभयो ।

दोस्रो खेलमा वडा नं ९ ले वडा नं २७ लाई २–० गोलले  हरायो । विजयी टिमका लागि दुवै गोल मिङमा लामा तामाङले गर्नुभयो । मिङमानै म्यान अफ दि म्याच चुनिनुभयो । तेस्रो खेलमा वडा नं ६ ले वडा नं ११ लाई ३–२ गोलले निराश बनायो । 

वडा ६ का लागि विपल्व लामा, दिपेश श्रेष्ठ र केशव भण्डारी तथा वडा नं ११ का जनक कोइारला र रितेश महतोले गोल गर्नुभयो । सो खेलमा वडा ६ का केशवले म्यान अफ दि म्याचको पुरस्कार पाउनुभयो ।

यसअघि प्रतियोगिताको उद्घाटन काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनीता डङ्गोलले गर्नुभएको थियो । काठमाडौँ महानगरपालिका केन्द्रसहित ३१ वडाको सहभागिता रहेको प्रतियोगितामा विजेता टिमलाई ट्रफीसहित दुई लाख रुपियाँ प्रदान गरिनेछ । 

उपविजेता टिमले एक लाख रुपियाँ प्राप्त गर्नेछ । यसैगरी, विधागततर्फ उत्कृष्ट हुने सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वश्रेष्ठ गोलरक्षकलाई जनही दस हजार रुपियाँले पुरस्कृत गरिनेछ ।