• १ असोज २०८१, मङ्गलबार

कोप–२९ को प्रमुख लक्ष्य निष्कर्षमा पुग्न नसकेको आयोजक अजरबैजानको दाबी

blog

पेरिस, असोज १ गते । संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप–२९) को आयोजक अजरबैजानले मङ्गलबार प्रमुख लक्ष्य जलवायु वित्त कोषको विषय निष्कर्षमा पुग्न नसकेपछि सम्मेलन पर्यटनदेखि विश्व शान्तिसम्म सबै कुरामा राष्ट्रको स्वैच्छिक प्रतिज्ञामा केन्द्रित रहने जनाएको छ । 

नोभेम्बरमा हुने सम्मेलनमा विकासशील देशलाई जलवायु परिवर्तनसँग जुध्न आवश्यक रकम र रकमको स्रोत निर्धारणमा राष्ट्रहरू सहमत हुने अपेक्षा गरिएको छ तर अहिलेसम्मको औपचारिक वार्ता असहमतिमा टुङ्गिएको छ ।

विभिन्न गतिरोधको बाबजुद पनि सम्मेलनका लागि उत्साहित रहेको अजरबैजानले कठिन वार्तालाई “पूरक’’गर्ने आशामा एक दर्जनभन्दा बढी पहलहरू अगाडी सारेको छ ।

अजरबैजानले यस सन्दर्भमा म्याराथन शिखर सम्मेलनको क्रममा राष्ट्रलाई युद्धविराम गर्न आग्रह गर्ने, जैविक फोहोर र पर्यटन उद्योगबाट हुने मिथेन उत्सर्जन घटाउने प्रतिबद्धता जनाउने, र विश्वव्यापी ऊर्जा भण्डारणलाई बढवा दिने वाचा गर्ने जस्ता आवश्यक पहल गरेको हो ।

कोप–२९ मा अजरबैजानले प्रस्ताव गरेको मुख्य एजेन्डामध्ये जलवायु वित्त कोष निर्धारणको लक्ष्य विकासोन्मुख देशहरूका लागि जलवायु परिवर्तनसँग जुध्न जीवाश्म इन्धन उत्पादन गर्ने देश र उद्योगबाट आवश्यक रकम सङ्कलन गर्नु हो ।

जीवाश्म इन्धनमा निर्भर अजरबैजानले “जलवायु वित्त कार्य कोष” मा पहिलो योगदान गर्ने अपेक्षा गरिएको छ ।

यस वर्ष बाकुमा हुने शिखर सम्मेलनमा विकासशील देशलाई ‘वार्मिङ ग्रह’सँग अनुकूलन गर्न आवश्यक रकम निर्धारण गर्न र उक्त रकम जुटाउन राष्ट्रहरू प्रतिबद्ध हुने अपेक्षा गरिएको छ ।

राष्ट्रका स्वैच्छिक पहल जस्तै गैर–बाध्यकारी प्रतिज्ञा र प्रतिबद्धता कोप शिखर सम्मेलनका विशेषताहरू हुन् तर यस्ता प्रतिज्ञाहरू संयुक्त राष्ट्रसङ्घको समर्थनमा पक्षबिच सहमतिद्वारा उत्पन्न हुने बाध्यकारी सम्झौताभन्दा फरक छन् । रासस/एएफपी