• १ असोज २०८१, मङ्गलबार

स्वास्थ्य सेवा प्रवाहमा रुरुक्षेत्र प्रथम

blog

रमेश विश्वकर्मा

गुल्मी, असोज १ गते । स्वास्थ्यको क्षेत्रमा सञ्चालित विभिन्न कार्यक्रमहरुको मूल्याङ्कनका आधारमा गुल्मीको रुरुक्षेत्र गाउँपालिका प्रथम भएको छ । आर्थिक वर्ष २०८०-०८१ को स्वास्थ्य कार्यक्रमहरुको वार्षिक प्रगतिको मुख्य सूचकहरुको मूल्याङ्कनको आधारमा दुई नगरपालिका र दश गाउँपालिकामध्ये रुरुक्षेत्र गाउँपालिका ७१.८२ नम्बर प्राप्त गर्दै जिल्लामा पहिलो बनेको हो ।

कार्यक्रमहरुको मूल्याङ्कनका आधारमा यहाँको सत्यवती गाउँपालिका ७१.१९ अंङ्कसहित दोस्रो र छत्रकोट गाउँपालिका ७०.४९ लिएर तृतीय भएको स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपति आचार्यले जानकारी दिनुभयो । स्वास्थ्य कार्यालयको आयोजना तथा रेसुङ्गा नगरपालिकाको आतिथ्यतामा गत आव २०८०-०८१ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको जिल्लास्तरीय वार्षिक समीक्षा गोष्ठीमा उत्कृष्ट भएका तीन पालिकाहरुलाई प्रमाणपत्रद्वारा सम्मान गरिएको हो । 

१२ वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखहरुले वर्षभरीमा आफ्नो पालिकाबाट भएका स्वास्थ्यसम्बन्धी गतिविधि प्रस्तुत गर्नुभयो । सहभागीहरुले जिल्लामा वर्थिङ् सेन्टर संख्यात्मक रुपमा धेरै रहे पनि गुणात्मक परिणाम आउन नसकेको बताउनुभयो । सहभागीको तर्फबाट बोल्दै गुल्मीदरबार गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण अर्यालले बर्थिङ् सेन्टरहरुमा गुणात्मक रुपमा परिणाम आउने गरी काम गर्न आवश्यक देखिएको बताउनुभयो ।

"हाम्रै बर्थिङ् सेन्टरहरुमा गुणात्मक रुपमा प्रसूति हुन सकेको छैन । कतै बर्थिङ् सेन्टरमा आम नागरिकहरुको विश्वास भएन कि," उहाँले भन्नुभयो, "प्रत्येक पालिकामा एउटा राम्रो बर्थिङ् सेन्टर बनाउन सक्नुपर्छ । अन्य वर्थिङ्ग सेन्टरलाई एकाइका रुपमा बनाउनेतर्फ अग्रसर हुनुपर्छ ।" किशोरीहरुमा भएको रक्तअल्पता यस जिल्लामा लागि चुनौतीको विषय भएको उल्लेख गर्नुभयो । यसको समाधानका लागि यथाशीघ्र योजना अगाडि सारेर कार्यान्वयनमा जान आवश्यक रहेको बताउनुभयो ।

स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका फोकल पर्सन कुमार थापाले दुई दिने समिक्षा कार्यक्रममा उठेका विषयहरुलाई प्रदेशमा आवश्यक सहजीकरणका लागि छलफल गर्ने बताउनुभयो । जिल्ला समन्वय समिति प्रमुख द्रोण खत्रीले समिक्षा बैठकमा गहन ढङ्गले जिल्लामा सञ्चालन गरिएका स्वास्थ्यका क्रियाकलापहरुको समिक्षा गरिएको भन्दै स्वास्थ्यका सूचकहरुमा राम्रो हुँदै गएको बताउनुभयो । गुल्मीको स्वास्थ्यको अवस्था राम्रो बनाउन सबै पालिका लाग्नुपर्ने बताउनुभयो ।

त्यस अवसरमा स्वास्थ्य कार्यालयले उत्कृष्ट कर्मचारीको रुपमा जनस्वास्थ्य अधिकृत पशुपति आचार्यलाई सम्मान गरेको छ । स्वास्थ्यको क्षेत्रमा जिल्लाको वास्तविक अवस्थाको पहिचान गर्न, नमुना कार्यको अनुसरण गर्न, स्वास्थ्यमा रहेका समस्याको पहिचान गर्न, समस्याको समाधानका लागि सामूहिक पहल गर्न र आगामी दिनका कार्यक्रममा सुदृढीकरण गरेर अगाडि बढ्न सहयोग पुग्ने कार्यालय प्रमुख पुष्पा थापाले बताउनुभयो ।