• ४ वैशाख २०८२, बिहिबार

प्लानिङ ब्वाइजको अपराजित यात्रा जारी

blog

बल खोस्ने प्रयास गर्दै प्लानिङ ब्वाइज र सरस्वतीका खेलाडी । तस्बिर : एन्फा

काठमाडौँ, चैत २६ गते । प्लानिङ ब्वाइज युनाइटेड क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा आफ्नो अपराजित यात्रा जारी राखेको छ ।

एन्फा मैदान सातदोबाटोमा मङ्गलबार भएको खेलमा प्लानिङ ब्वाइजले सरस्वती युथ क्लबलाई ३–० गोलले हरायो । पाँचौँ जित निकाल्ने क्रममा प्लानिङले सरस्वतीविरुद्ध एकपक्षीय प्रदर्शन गरेको थियो । 

प्लानिङ ब्वाइजलाई जित दिलाउन सुजन डंगोलले दोस्रो मिनेटमै गोल गर्नुभयो । यस्तै सरोज कार्कीले ७३औँ र फागुराम थारूले ८२औँ मिनेटमा गोल गर्नुभयो । सरस्वतीको गोल फर्काउने प्रयास सफल बन्न सकेन । 

जितसँगै शीर्षस्थानमा रहेको प्लानिङ ब्वाइजले पाँच खेलबाट १५ अङ्क बनाएको छ । लगातार तेस्रो हार खेपेको सरस्वतीको समान खेलबाट ६ अङ्क छ । 

यस्तै अर्को खेलमा श्रीकृष्ण तामाङको निर्णायक गोलसहयोगमा नयाँ बस्ती युथ क्लबले वीरगञ्ज युनाइटेडलाई १–० गोलले हरायो । पहिलो जितसँगै नयाँ बस्तीले पाँच खेलबाट पाँच नै अङ्क बनाएको छ । वीरगञ्जको समान खेलबाट आठ अङ्क छ। 

लिगको विजेताले १५ लाख रुपियाँ, उपविजेताले १० लाख र तेस्रो हुनेले पाँच लाख रुपियाँ पुरस्कार पाउने आयोजक अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । 

यस्तै ‘फेयर प्ले’ टोली र सर्वोत्कृष्ट खेलाडीलाई एक लाख तथा सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही ५० हजार रुपियाँ पुरस्कार प्रदान गरिने छ ।