• १ असोज २०८१, मङ्गलबार

डुडुवा गाउँपालिका स्वास्थ्य सेवा प्रवाहमा उत्कृष्ट

blog

उत्कृष्ट पालिकालाई प्रशंसापत्र प्रदान गर्नुहुँदै लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका तथ्याङ्क अधिकृत मानबहादुर वलीलगायत । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ
खजुरा, असोज १ गते ।
बाँकेका आठ स्थानीय तहमध्ये डुडुवा गाउँपालिका स्वास्थ्य सेवा प्रवाहमा उत्कृष्ट बनेको छ । आर्थिक वर्ष २०८०–०८१ मा प्रभावकारी स्वास्थ्य सेवा प्रवाह र जनस्वास्थ्य सूचकका आधारमा डुडुवा गाउँपालिका जिल्लामै पहिलो बनेको हो ।

गत आर्थिक वर्ष २०८०–०८१ मा जिल्लामा सम्पन्न भएका स्वास्थ्य कार्यक्रमहरुको प्रभावकारी सेवा प्रवाह र जनस्वास्थ्य सूचकका आधारमा डुडुवा गाउँपालिकाले उत्कृष्ट कार्य सम्पादन गरेर प्रथम स्थान हासिल गरेको स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी एवम् तथ्याङ्क फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिनुभयो ।

प्रभावकारी सेवा प्रवाह र जनस्वास्थ्य सूचकका आधारमा डुडुवाले ७२ दशमलव ४२ प्रतिशत अङ्क प्राप्त गरेर प्रथम स्थान हासिल गरेको हो । त्यसैगरी जानकीले ७२ दशमलव ३७ प्रतिशत र खजुराले ६९ दशमलव ५४ प्रतिशत अङ्क प्राप्त गरेर द्वितीय र तृतीय स्थान हासिल गरेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो ।

त्यसपछि क्रमशः राप्तीसोनारीले ६५ दशमलव ४३ प्रतिशत, कोहलपुरले ६३ दशमलव ०९ प्रतिशत, नरैनापुरले ६२ दशमलव ३७ प्रतिशत, बैजनाथले ६० दशमलव ७२ प्रतिशत र सबैभन्दा अन्तिममा नेपालगन्ज उपमहानगरपालिकाले ५७ दशमलव २९ प्रतिशत अङ्क प्राप्त गरेका छन् । स्वास्थ्य क्षेत्रका मुख्य २२ वटा सूचकहरुका आधारमा मूल्याङ्कन मापन गरिने उहाँले बताउनुभयो ।

स्वास्थ्य सेवा प्रवाहमा गाउँपालिकाहरु अग्रस्थानमा आउँदै गर्दा जिल्लाको सुगम स्थानमा रहेका एउटा नगरपालिका र एउटा उपमहानगरपालिका भने पछाडि परेका छन् । कोहलपुर नगरपालिका छैटाैं नम्बरमा परेको छ भने नेपालगन्ज उपमहानगरपालिका आठौं अन्तिम स्थानमा परेको छ ।

स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९–०८० मा जानकी प्रथम, डुडुवा द्वितीय र खजुरा तेस्रो स्थानमा थिए । त्यसैगरी क्रमशः नरैनापुर, कोहलपुर, राप्तीसोनारी, नेपालगन्ज र अन्तिम स्थानमा बैजनाथ थिए । उक्त आर्थिक वर्षमा दोस्रो स्थानमा रहेको डुडुवा गत वर्ष प्रथम बनेको हो भने सातौं नम्बरमा रहेको नेपालगन्ज उपमहानगरपालिका भने आठौं स्थानमा झरेको हो ।

स्वास्थ्य कार्यालय बाँकेले नेपालगन्जमा आयोजना गरेको जिल्लास्तरीय वार्षिक प्रगति तथा समीक्षा गोष्ठीको अवसरमा उत्कृष्ट पालिकाहरुलाई सम्मानसहित प्रशंसापत्र प्रदान गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका तथ्याङ्क अधिकृत मानबहादुर वली लगायतले प्रशंसापत्र प्रदान गर्नुभएको थियो ।