• १ असोज २०८१, मङ्गलबार

ग्रामीणस्तरका सडक धमाधम मर्मत

blog

तम्घास समाचारदाता 

तम्घास, असोज १ गते । चाडपर्व  आउन थालेपछि पर्वलाई लक्षित गर्दै ग्रामीणस्तरका सडक धमाधम मर्मत गर्न थालिएको छ ।

कालीगण्डकी गाउँपालिकाकी उपाध्यक्ष मञ्जु दर्लामीले चाडपर्वलाई लक्षित गर्दै ग्रामीण सडक मर्मतलाई तीव्र बनाएको जानकारी दिनुभयो । देश तथा विदेशबाट दसैँतिहार जस्ता पर्व मनाउन गाउँमा आउनेको सङ्ख्या पनि बढी हुने र वर्षा पनि विस्तारै रोकिएकाले सडक मर्मत तीव्र रूपमा बनाइएको उहाँको भनाइ छ । 

वर्षा रोकिएसँगै बिग्रिएका सडकलाई मर्मत तथा सफा गर्दा यात्रामा सहज हुने र दुर्घटना न्यूनीकरणमा समेत टेवा पुग्ने आफूले विश्वास लिएको दर्लामीले बताउनुभयो । यस्तै रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले पालिकाभित्रका सबै सडक मर्मतलाई  प्राथमिकता दिएको बताउनुभयो । अहिले वर्षा रोकिएकाले एक दुई दिनपछि मात्रै सडक मर्मत सुरु गर्ने योजना बनाइएको उहाँको भनाइ छ । 

चन्द्रकोट गाउँपालिकाले वडाबाट कार्यान्वयन हुने गरी बजेट विनियोजन गरेको र वडाको समन्वयमा सडक मर्मत तथा सफा गर्ने कार्य भइरहेको गाउँपालिकाका प्रवक्ता घनश्याम खरेलले जानकारी दिनुभयो । मुख्य सडक नियमित सुचारु रहेको र ग्रामीणस्तरका सडक मर्मतलाई सुरु गरिएको उहाँको भनाइ छ । 

मुख्य सहर र विदेशबाट आउँदा गाउँमा सडकले समस्या भयो भन्ने सुन्न नपर्ने गरी काम गरिने खरेलले दाबी गर्नुभयो । रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले ग्रामीणस्तरका सडक मर्मत भइरहेको बताउनुभयो । ग्रामीणस्तरका सडकमा गएका पहिरो पन्छाउने र सडक मर्मत गर्न सबै वडाध्यक्षलाई निर्देशन गरिएको उहाँको भनाइ छ ।