• १ असोज २०८१, मङ्गलबार

इनरुवामा उराँव सङ्घको करम पूर्व सन्ध्या कार्यक्रम

blog

सुनसरी सदरमुकाम इनरुवामा उराँवको महान पर्व करम पूजाको अवसरमा करम पूर्व सन्ध्या कार्यक्रम । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव 

इनरुवा, भदौ ३१ गते । नेपाली कांग्रेसको भातृसंस्था नेपाल उराँव सङ्घको आयोजनामा सुनसरी सदरमुकाम इनरुवामा उराँवको महान् पर्व करम पूजाको अवसरमा करम पूर्व सन्ध्या कार्यक्रम सम्पन्न भएको छ । 

प्रकृति पूजक उराँवहरुले आफ्नो सांस्कृतिक तथा धार्मिक कार्यक्रम अन्तर्गत उराँव झाँकी नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय इनरुवाबाट नगरको पक्रिया गरेर पार्टी कार्यालयमै पुगेर कोण तथा करम सांस्कृतिक कार्यक्रम गरेर सम्पन्न गरेको हो । 

नेपाल उराँव सङ्घ केन्द्रीय कार्यालय काठमाडौँको आयोजनामा नेपाली काग्रेंसका केन्द्रीय सदस्य राजीव कोइरालाको प्रमुख आतिथ्यता र सङ्घका केन्द्रीय अध्यक्ष एवम् संविधान सभा सदस्य सूर्यदेव दास उराँवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रममा प्रमुख अतिथि कोइरालाले सबै जातजातिको संरक्षण, अधिकार र हितको पक्षमा काम गर्ने पार्टी नेपाली कांग्रेस भएकाले नेपाल उराँव सङ्घलाई भातृसंस्थाको रूपमा स्वीकार गरेको बताउनुभयो । उहाँले सङ्घको आयोजनामा सोमबार भएको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाली कांग्रेसले कसैलाई विभेद नगर्ने, साझा आवाज बोल्ने र सबैको पक्षमा, हितमा र अधिकारको पक्षमा वकालत गर्ने काम समेत गर्दै आएको बताउनुभयो ।

त्यसैगरी संविधान सभा सदस्य एवम् पूर्व राज्यमन्त्री सिताराम मेहताले उराँव समुदाय नेपालको धर्तीपुत्र भएकाले आफूहरूको पार्टीले विगतमा पनि वर्तमान र भविष्यमा पनि उराँवहरुको पक्षमा काम गर्ने बताउनुभयो । उहाँले कुनैपनि विभेद र शोषणका विरुद्धमा कांग्रेस बोल्ने पार्टी भएकाले नेपाल उराँव सङ्घलाई भातृसंस्थको रूपमा स्थापित गरेको दाबी गर्नुभयो । 

कार्यक्रमका अध्यक्ष एवम् संविधान सभा सदस्य सूर्यदेव दास उराँवले आफूहरूको महान् पर्व करम प्रत्येक वर्ष भदौ पूर्णिमाका दिन मनाउने भएकाले देशभरि सार्वजनिक बिदा दिनुपर्ने माग गर्नुभयो । उहाँले विगतमा नेपाली काग्रेंसको नेतृत्वको सरकारले करमका लागि सार्वजनिक बिदा दिएको स्मरण गराउनुहुँदै देशभरि नै करमको सार्वजनिक बिदा दिनुपर्ने माग गर्नुभएको हो ।

उहाँले सदरमुकाम इनरुवासहित झापा, मोरङ, इलाम, पर्सामा बसोबास रहेको उराँव समुदायहरूको उपस्थितिमा नाचगान र सांस्कृतिक कार्यक्रम गरेर करम पूर्व सन्ध्या कार्यक्रम सम्पन्न गरेको बताउनुभयो । उराँवहरु आफ्नै मौलिक भेषभुषामा सजिएर र्‍याली समेत निकालिएको थियो । उराँव समुदायको महान् पर्वको बारेमा जानकारी दिन तथा भाषाको संरक्षण गर्ने र मौलिकता प्रदर्शन गर्ने उद्देश्यका साथ कार्यक्रम सम्पन्न गरेको सङ्घका केन्द्रीय महामन्त्री ध्यानी उराँवले बताउनुभयो । उहाँले उराँवहरूको हक, अधिकार र पहिचानका लागि योगदान रहने गरी करम पूर्व सन्ध्या कार्यक्रम गरिएको बताउनुभयो ।

उहाँले उराँव समुदायलाई कांग्रेसले भातृ संस्थाको रूपमा नेपाल उराँव सङ्घलाई मान्यता दिएको सुनसरीको इनरुवामा  पहिलो पटक सङ्घको आयोजनामा कार्यक्रम गरेको बताउनुभयो । उहाँले  उराँव भाषा, कला, संस्कृति र संस्कारको संरक्षणमा सङ्घले योगदान गर्दै राजनीतिक अधिकारको लागि पनि कार्यक्रम गरेको बताउनुभयो । करम पूर्व सन्ध्या तथा सांस्कृतिक कार्यक्रममा उराँव कलाकारहरूले नाटक, नृत्य, र्‍याली र झाँकी प्रदर्शन गरेको थियो । करम पूर्व सन्ध्या कार्यक्रममा आफ्नो कला कौशल, गीत, नृत्य, पहिरन, बाजागाजा, पोसाक, मौलिक हातहतियार, कृषि औजार, जीविकोपार्जनका साधन प्रदर्शन गरिएको बताउनुभयो ।