• १ असोज २०८१, मङ्गलबार

सशस्त्र प्रहरीका ६७ जना दीक्षित

blog

रमेश पौडेल

पोखरा, भदौ ३१ गते । सशस्त्र प्रहरी बल नेपाल, हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालय लामापाटन पोखराको सि.सं. १६ (ख) सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोह सोमबार सम्पन्न भएको छ । 

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले दीक्षित भएका प्रहरीहरूलाई शपथ ग्रहण गराई कार्यक्षेत्रमा प्रवेशको अनुमति प्रदान गर्नुभयो । सो अवसरमा महानिरीक्षक अर्यालले तालिममा सिकेका कुराहरूलाई देश र जनताको सुरक्षामा लागु गर्न आग्रह गर्नुभयो । उहाँले उच्च प्रेरणा र समर्थन भावका साथ प्रहरीहरूले आन्तरिक रूपमा शान्तिसुरक्षाका साथ सीमा सुरक्षा लगायत विपत् व्यवस्थापनमा कुशलता पूर्वक कार्य गरेको बताउनुभयो । 

महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बलमा प्रवेश भएका नयाँ प्रहरीका अभिभावकलाई सम्बोधन गर्नुहुँदै कुशल, इमानदार, सीप र क्षमतावान् छोराछोरीलाई मुलुकप्रति समर्पण गरेकोमा आभार व्यक्त गर्नुभयो । ४७ हप्तासम्म सञ्चालन भएको सो तालिमबाट ६७ जना सशस्त्र प्रहरी सहायक निरीक्षकले तालिम लिई दीक्षित भएका हुन् । 

कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी बल प्रतिष्ठानका प्रहरी नायव महानिरीक्षक कमल गिरीले सशस्त्र प्रहरी बलको सङ्गठनले विशेषतः शान्ति, सुरक्षा र दङ्गा एवम् विपत् व्यवस्थापनमा खेलेको भूमिका सह्रानीय रहेको बताउनुभयो । तालिम महाविद्यालयका समादेशक एवम् सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुधीरजंग थापाले कार्यक्षेत्रमा प्रवेश गर्नुभएका प्रहरीहरूको भविष्य सुन्दर रहेको बताउनुभयो । 

कार्यक्रममा प्रहरीका अभिभावकहरूले दर्ज्यानी चिन्ह लगाएर खुसी साटासाट गरेका थिए । बारा जिल्लाका ओमप्रसाद यादवले आफ्नो सङ्गठनप्रतिको प्रवेशलाई हर्ष र गौरवका साथ लिएको बताउनुभयो ।