• २१ पुस २०८१, आइतबार

विमान दुर्घटनाको विषय मन्त्रिपरिषदमा पेश : पर्यटनमन्त्री

blog

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे सोमबार मन्त्रालयमा आयोजित पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै । तस्बिर : मन्त्री पाण्डेको सचिवालय

काठमाडौँ, भदौ ३१ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हालसम्म भएका हवाई दुर्घटनाबारे छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठनको प्रस्ताव तथा नागरिक उड्डयनका क्षेत्रमा नियामक र सेवा प्रदायक निकायलाई छुट्याउने गरी बनेको विधेयक मन्त्रिपरिषदमा पेश भइसकेको बताउनुभएको छ ।

सोमबार मन्त्रालयमा आयोजित पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै मन्त्री पाण्डेले उच्च अदालतका पूर्व न्यायाधीशको संयोकत्वमा उच्चस्तरीय छानिबिन समितिको प्रस्ताव मन्त्रिपरिषदमा प्रवेश भइसकेको बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘‘हालसम्म भएका विमान दुर्घटनाको विषय मन्त्रिपरिषदमा पुगिसकेको छ । उच्च अदालतका पूर्व न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति बन्दै छ ।’’

यसैगरी उहाँले हवाई उड्डयनमा नियामक र सेवा प्रदायक निकायलाई छुट्याउने गरी बनेको विधेयक अर्थ, कानुन मन्त्रालय हुँदै हाल मन्त्रिपरिषद्को विधेयक समितिमा पुगेसकेको बताउनुभयो । साथै उहाँले भैरहवा र पोखरा विमानस्थल सञ्चालनका लागि अन्तरमन्त्रालय स्तरमा काम भइरहेको जानकारी गराउनुभयो ।

उहाँले अहिले प्रस्तावित छानबिन समितिमा यस अघिका कार्यदलले बनाएका अध्ययन प्रतिवेदनलाई रिफ्रेन्सका रूपमा लिएर अघि बढ्ने जानकारी गराउनुभयो ।  उहाँले अध्ययनले दिएको प्रतिवेदन कार्यान्वयन हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री पाण्डेले हवाई दुर्घटनाका विषयमा संसदमा समेत सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता भएर छलफल भइसकेको बताउनुभयो । मन्त्री पाण्डेले मन्त्रालय र मातहतका निकायमा संस्थागत र संरचनागत कुरामा सुधार गर्दै अघि बढिरहेको बताउनुभएको छ ।

बिट सम्बद्व पत्रकारहरूसँग आवश्यक सूचना प्रदान गर्ने कुरामा कुनै कमजोरी नरहने विश्वास व्यक्त गर्नुभएको छ ।