• ११ मंसिर २०८१, मङ्गलबार

दरबार सङ्ग्रहालयप्रति आकर्षण बढ्दै

blog

तानसेन समाचारदाता

तानसेन, भदौ ३१ गते । पाल्पा दरबार सङ्ग्रहालयलाई आकर्षक र व्यवस्थित बनाएपछि सङ्ग्रहालय अवलोकनकर्ता बढेका छन् । दरबार सङ्ग्रहालय व्यवस्थित बनेपछि अवलोकनका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको हो । 

अघिल्लो वर्षको तुलनामा पछिल्ला वर्षमा स्वेदशी र विदेशी पर्यटक बढ्ने क्रम जारी रहेको छ । आर्थिक वर्ष २०७९/८० मा आन्तरिक र बाह्य गरी ५४ हजार सात सय पर्यटकले दरबार सङ्ग्रहालयको अवलोकन गरेका छन् । यस्तै आव २०८०/८१ मा ५६ हजार ९८७ जना पर्यटकले सङ्ग्रहालयको अवलोकन गरेको सङ्ग्रहालयका कर्मचारी सपना श्रेष्ठले जानकारी दिनुभयो । 

पर्यटकको सङ्ख्या बढ्दै जाँदा प्रवेश शुल्कबाट हरेक वर्ष सङ्ग्रहालयको आम्दानीसमेत बढेको छ । गत आव २०८०/८१ मा २९ लाख ४९ हजार ४४५ रुपियाँ पर्यटक प्रवेश शुल्कबाट राजस्व सङ्कलन भएको श्रेष्ठले बताउनुभयो । १९८२ सालमा तत्कालीन शासक प्रताप शमशेरले निर्माण गर्न लगाएको पाल्पा दरबार द्वन्द्वको समयमा २०६२ माघ १८ गते ध्वस्त भएको थियो । पुनर्निर्माणपछि २०७२ सालमा पाल्पा दरबारमा सङ्ग्रहालय राख्ने निर्णय भएको थियो । पछिल्लो समय लुम्बिनी प्रदेश सरकारले सङ्ग्रहालयमा लगानी गर्दै आएको छ । 

आन्तरिक रूपमा सङ्ग्रहालयमा आवश्यक कक्ष निर्माण तथा सामग्री जुटाउन, ऐतिहासिक एवं पुरातात्त्विक सामग्री सजाउन, दरबार परिसरलाई ऐतिहासिक स्वरूपमा सिँगार्न प्रदेश सरकारले लगानी गरेको सङ्ग्रहालयका कार्यालय प्रमुख श्यामकुमार पौडेलले जानकारी दिनुभयो । पछिल्लो समय दरबार परिसरका घरटहरा हटाएर ऐतिहासिक पर्खाल बनाउने काम भइरहेको छ । 

यस्तै ऐतिहासिक मूलढोका पुनर्निर्माणको काम भइरहेको छ । पाल्पा दरबारको पहिलो, दोस्रो र तेस्रो तलाका विभिन्न कोठालाई ऐतिहासिक वस्तु तथा कला संस्कृतिका सामग्रीले सजाइएको छ । मगर, कुमाल, थारू, नेवार, ब्राह्मण, क्षेत्रीका जातीय र नेपाली सेनाले प्रयोग गरेका ऐतिहासिक सामग्री सङ्ग्रहालयभित्र राखिएका छन् । ऐतिहासिक, पुरातात्त्विक र सांस्कृतिक पहिचान झल्काउने सामग्रीले पर्यटकलाई आकर्षित गरेको कर्मचारी बताउँछन् । 

दरबार परिसरलाई विश्व सम्पदा सूचीमा राख्ने गरी दरबार परिसरभित्रका आवश्यक कार्यालय एवं संरचना हटाउने काम तीव्र गतिमा अगाडि बढेको तानसेन नगरपालिकाले जनाएको छ । नगरपालिका, प्रदेश सरकार र पुरातत्व विभागको लगानीमा आवश्यक संरचना बनाएपछि दरबार सङ्ग्रहालयमा प्रवेश गर्ने पर्यटक बढ्दै जाने तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले दाबी गर्नुभयो । पाल्पा दरबार परिसरलाई मुख्य केन्द्र बनाएर तानसेनमा अन्य पर्यटकीय पूर्वाधार निर्माण गर्दै जाने योजना रहेको नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।