• १ असोज २०८१, मङ्गलबार

साटफेरले धानेको सुन बजार

blog

चितवन समाचारदाता

चितवन, भदौ ३१ गते । सुन खरिदभन्दा बिक्री गर्न आउनेको सङ्ख्या वृद्धि भएपछि चितवनको सुनचाँदी पसलमा व्यापार खस्किएको छ । दैनिक दुई किलो सुन खपत हुने जिल्लामा अहिले आधा किलो सुन बिक्री गर्न धौ धौ परेको नेपाल सुनचाँदी व्यवसायी सङ्घ चितवनका अध्यक्ष यमबहादुर विकले जानकारी दिनुभयो । 

सुनको मूल्यमा भारी वृद्धि भएपछि त्यसको प्रभाव बजारमा परेको हो । विवाह, चाडपर्वमा समेत नयाँ सुन खरिद गरेर लगाउने प्रचलनमा कमी आएको उहाँले बताउनुभयो । सुनचाँदी पसलमा पुरानो सुन ल्याउने र नयाँ सुन साटफेर गरेर लैजानेको सङ्ख्या धेरै भएको छ । खरिद गर्नका लागि उपभोक्तासँग क्रयशक्ति कमजोर भएको छ । विवाह उत्सवमा समेत घरमा भएका सुनलाई सफा गरेर लगाइदिनका लागि पसलमा आउने गरेका छन् । नयाँ खरिद गर्ने नगण्य मात्रामा भएको उहाँले बताउनुभयो । “यसरी सुन बिक्री कम भएको यसअगाडि महसुस गरिएको थिएन,” जिल्ला अध्यक्ष विकले भन्नुभयो ।  

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष अर्जुन रसाइलीले सुन आयातमा भन्सार दर वृद्धि गरेपछि व्यवसायीलाई असर परेको बताउनुभयो । अहिले नेपालमा बजारमा दैनिक १२ देखि १५ किलो सुन खपत भइराखेको छ । विदेशबाट नेपाल आउनेले ल्याउने सुन बैङ्कमा खरिद गरेर बजार जाने गरी दैनिक १५ किलोसम्म खपत भइराखेको उहाँले जानकारी दिनुभयो ।