• १९ असोज २०८१, शनिबार

माइक्रोबसको ठक्करले बालकको मृत्यु

blog

सडकमा टायर बालेर विरोध प्रदर्शनमा उत्रिएका स्थानीयवासी । तस्बिर : देवरामप्रसाद यादव

देवरामप्रसाद यादव

सप्तरी, भदौ ३० गते । सप्तरीको पूर्व–पश्चिम लोकमार्गअन्तर्गत हनुमाननगर कंकालिनी नगरपालिका– १ स्थित भारदहमा माइक्रोबसको ठक्करले आइतबार एक बालकको मृत्यु भएको छ ।

राजविराजबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १–००२–००१ज ३८६६ नम्बरको माइक्रोबसले भारदहको कङ्कालिनी मन्दिर अगाडि ठक्कर दिँदा १५ महिने आदर्श अधिकारीको मृत्यु भएको हो ।

पैदलयात्री भारदह निवासी–४५ वर्षीया अनितादेवी अधिकारी र निजका १५ महिने नाति आदर्श गम्भीर घाइते भएका थिए । उपचारका क्रममा आर्दशको विराट नर्सिङ होम विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो ।

अनितादेवीको खुट्टासहित शरीरका अन्य भागमा चोट लागेको छ भने उहाँको काखमा रहेका नाति आदर्शको टाउकोमा गम्भीर चोट लागेको थियो । तीव्र गतिमा रहेको माइक्रोबस चालकको लापर्बाहीले दुर्घटना भएको भन्दै स्थानीयले क्षतिपूर्तिको मागसहित बिहान ८ बजेदेखि सडकमा टायर बालेर पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

ठक्कर दिने माइक्रोबस र चालक छिनमस्ता गाउँपालिका ७ का ३२ वर्षीय अबदुल सतारलाई प्रहरी नियन्त्रणमा राखी कारबाही प्रक्रिया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।