• २९ भदौ २०८१, शनिबार

बाँकेमा रगत अभाव, प्रादेशिक रक्तसञ्चार केन्द्रमा केही पिन्ट मात्र रगत

blog

रगत अभाव टार्न जनमत अर्ध साप्ताहिकले आयोजना गरेको रक्तदान कार्यक्रम । तस्बिर: सिराज खान

सिराज खान 

नेपालगन्ज, भदौ २९ गते।  विगत केही समययता रगत अभाव हुँदै आएको बाँके जिल्लामा फेरी एक पटक रगतको अभाव भएको यहाँस्थित प्रादेशिक रक्तसञ्चार केन्द्रले जनाएको छ।  

नेपाल रेडक्रस सोसाइटीको प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मीले रगतको माग धेरै बढी तर सङ्कलन निकै कम हुने गरेकोले फेरि एक पटक रगतको अभाव उत्पन्न भएको बताउनुभयो।  

उहाँले माग बढ्दै गएकोले रक्तदान भएको दिन रगत सहज आपूर्ति हुने र अन्य दिनमा माग पुरा गर्न नसकिने अवस्थाबाट गुज्रिरहेको बताउनुभयो।  

पश्चिम नेपालका तीन वटा प्रदेशबाट उपचारका लागि बिरामी आउने प्रमुख अस्पताल बाँके जिल्लामा रहेकोले रगतको माग दिनदिनै बढ्दै गएको र रक्तसञ्चार केन्द्रमा रगतको स्टक शून्य रहने गरेकोले निकै समस्या भएको प्रमुख रेग्मीको भनाइ छ।  

उहाँले विभिन्न समूहको गरी हाल ४०/५० पिन्ट भन्दा बढी रगत स्टकमा नरहेको प्रष्ट पार्दै जिल्लाका विभिन्न अस्पतालमा यो भन्दा बढी आवश्यक पर्ने गरेकोले पूरा गर्न नसकिने हुँदा समस्या चर्किने बताउनुभयो।  

रक्तदान गर्नेले केन्द्रमा आवश्यक समूहको रगत नरहेमा रक्तदान गर्दा पनि माग गरेको समूहका रगत पाउने अवस्था छैन।  त्यसले गर्दा सामाजिक सञ्जालमा पछिल्ला दिनमा रगत समूह उल्लेख गरेर नै रक्तदानको आह्वान गरिएको रक्तसञ्चार केन्द्रले जनाएको छ।  

त्रैमासिक रूपमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आउनुभएका जनमत अर्द्ध साप्ताहिकका सम्पादक पूर्णलाल चुकेले रक्त सञ्चार केन्द्र पुग्दा रगतको अभाव रहेको पाएका बताउनुभयो।  

वर्षाको समयमा नियमित रक्तदान कार्यक्रम नहुँदा रगतको अभाव हुने गरेको रक्त सञ्चार केन्द्र प्रमुख रेग्मीको भनाइ छ।  

रगत अभाव हुन नदिन सामाजिक सञ्जालमा रक्तदानका लागि पटक–पटक आह्वान गर्ने गरिएको केन्द्रले जनाएको छ।  नेपालगन्ज, खजुरा र कोहलपुर गरी बाँकेमा दैनिक कम्तीमा ८० देखि एक सय पिन्ट रगत माग हुने गरेको रक्तसञ्चार केन्द्रले जनाएको छ।  बाँकेमा कम्तीमा एक हजार पिन्ट रगत स्टकमा हुने हो भने समस्या नहुने नेपाल रेडक्रस सोसाइटीले जनाएको छ। 

थालेसिमिया, सिकलसेलका बिरामीलाई नियमितरुपमा रगत उपलब्ध गराउनुपर्ने भएकाले पनि नियमित रगतको माग अत्यधिक रहेको रक्तसञ्चार केन्द्रले जनाएको हो।  

विभिन्न सङ्घ संस्थाले रक्तदान कार्यक्रम गरिरहेको र गर्ने जानकारी दिएकाले केही दिन माग धान्न सकिने केन्द्र प्रमुख रेग्मीको भनाइ छ।  मानव धर्म सेवा समाज, जनमत अर्ध साप्ताहिक, खजुराको धौलागिरि विद्यालय, संविधान दिवसमा कर्मचारीहरू, असोज चार गते लायन्स क्लबले रक्तदान गरेको र गर्न लागेको जनाइएको छ।  

नेपालगन्जस्थित प्रादेशिक रक्तसञ्चार केन्द्रले नेपालगन्ज, कोहलपुर र खजुराका अस्पतालमा रगत उपलब्ध गराउँदै आएको छ । खजुरा र कोहलपुरमा छुट्टै वितरण केन्द्र स्थापित भए पनि नेपालगन्जबाटै त्यहाँ रगतको आपूर्ति हुने गरेको छ ।