• २९ भदौ २०८१, शनिबार

तम्घासमा जुम्लाको स्याउ

blog

रमेश विश्वकर्मा 

गुल्मी, भदौ २९ गते। गुल्मीको सदरमुकाम तम्घासमा जुम्लाको स्याउ बिक्रीका लागि ल्याइएको छ। सिंजा गाउँपालिका वडा नम्बर–१ का मनिषचन्द्र आचार्य र वडा नम्बर–३ का परेकराज धितालसहित चार जनाले त्यहाँको स्याउ बिक्रीका लागि यस जिल्लाको सदरमुकाम तम्घाससँगै ग्रामीण भेगसम्म पुर्‍याउनु भएको छ। 

विभिन्न स्थानमा यातायातको सुविधा भएसँगै जुम्लाको स्याउलाई बाहिर अन्यत्र जिल्लामा पुर्‍याउन थालिएको छ।  तम्घासमा झण्डै ३५ क्विन्टल स्याउ ल्याइएको हो। स्याउ ल्याएको पाँच दिनको अवधिमा झण्डै १० क्विन्टल बिक्री गरी सकिएको छ।  

जुम्लादेखि ल्याइएको सबै स्याउलाई बिक्री गर्नका लागि आफू बजार क्षेत्रसँगै ग्रामीण क्षेत्रमा पनि पुगेको परेकराज धितालले बताउनुभयो। 


जुम्लामा प्रति केजी झण्डै ८० रुपियाँ पर्ने स्याउ यहाँ दुई सय रुपियाँ सम्ममा बिक्री गरिएको भन्दै उहाँले स्याउलाई बिक्री गरेर सकेपछि स्थानीयको माग अनुसार पुनः जुम्लादेखि ल्याउन सकिने बताउनुभयो।  जुम्लाका स्थानीयले आफ्नो बारीमा चार–पाँच सय स्याउका बोट लगाएको धितालले बताउनुभयो।  

जुम्लादेखि पहिलोपटक यसरी आफैले स्याउ ल्याएर बिक्री गरेको उहाँले बताउनुभयो।  जुम्लाको स्याउ यहाँका स्थानीयले निकै खुसी भएर किन्ने गरेका छन्।