• १० मंसिर २०८१, सोमबार

चन्दाकै भरमा गोल्डकप आयोजनाको तयारी

blog

गोल्डकपका लागि निर्माण भइरहेको बाँसको प्यारापिट । तस्बिर : गोरखापत्र

हरि कोइराला

उर्लाबारी, भदौ २९ गते ।  मोरङको पथरी–११ फुटबल क्लब यतिबेला तेस्रो पटक सरेको मितिमा पथरीशनिश्चरे गोल्डकपको आयोजना गर्न जुटेको छ । 

स्रोत सुनिश्चित नभएपछि यसअघि दुईपटक मिति सरेको गोल्डकप आगामी असोज ५ गते देखि आयोजना गर्ने तयारी भइरहेको छ । यतिबेला पथरीशनिश्चरे–१ को जाँतेमोडस्थित प्रस्तावित रङ्गशालामा धमाधम अस्थायी प्याराफिट भइरहेको छ । 

दैनिक तीन हजार दर्शकले फुटबल हेर्न सक्ने क्षमताको बाँसको प्याराफिट निर्माण भइरहेको खेल संयोजक जितन राईले बताउनुभयो । उहाँले भन्नुभयो,‘‘प्याराफिट बनाउन ठेक्का दिइसक्यौँ । आधाभन्दा बढी काम सम्पन्न भइसकेको छ । त्यसकारण अब गोल्डकप जसरी पनि आयोजना हुन्छ । झण्डै चालिस लाख रुपियाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताका लागि पथरीशनिश्चरेबाट वैदेशिक रोजगारमा विभिन्न देश पुगेका फुटबल प्रेमीहरूले सहयोग गरिरहनुभएको छ । ’’

‘‘तीनै तहका सरकारलाई सहयोगको लागि आह्वान गर्‍यौँ । सहयोग प्राप्त हुने सुनिश्चित नभएपछि जसरी पनि प्रतियोगिता सफल पार्नु पर्छ भनेर हामी लागेका छौँ । ,क्लबका अध्यक्ष सुमन विकले भन्नुभयो । कुनै पनि खेल आयोजना गर्दा को खुसी हुन्छ, वा हुँदैन त्यो विषयसँग सरोकार नराखी हामी अघि बढेका छौँ । सहयोग जुट्ने क्रम जारी छ । क्लबको लोगो अङ्कित टिसर्ट पनि सहयोगीहरूका लागि प्रदान गरिरहेका छौँ ।’’

हात थापेर फुटबल आयोजना गराउनु पर्ने बाध्यता रहेको खेल संयोजक जितन राईको भनाई छ । राईले प्रथम पुरस्कार तीन लाख रुपियाँ सिजल एण्ड सिस्टर अमेरिकाले सौजन्य गरेको र दोस्रो पुरस्कार दुई लाख रुपियाँ पनि सौजन्यको चरणमा रहेको बताउनुभयो । 

त्यस्तै उत्कृष्ट गोल रक्षकका लागि १० हजारको पुरस्कारको सौजन्य पनि प्राप्त भएको छ । राईले अब गहना धितो राखेर पनि प्रतियोगिता आयोजना गर्ने प्रतिबद्धता जनाउनुभयो । 

प्रतियोगितामा ‘ए’ डिभिजन राष्ट्रिय लिग खेल्ने दुई वटा टिम, भारतीय एउटा र झापा–११, पाँचथर, सहलेस फुटबल क्लब सिराहा,  धनकुटा,  धरान र आयोजक क्लबले प्रतिस्पर्धा गर्ने भएका छन् ।  

आन्तरिक खर्च शून्य बनाएर दाताले दिएको सहयोग सबै खेलमा लगानी गर्ने आयोजकहरूको भनाई छ । राईले भन्नुभयो, ‘‘अहिले सम्म एक कप चियासम्म क्लबको पैसाले पिएका छैनौँ । खेलप्रति माया गर्नेहरूले देखाउनु भएको सद्भाव टुट्न दिँदैनौँ ।’’