• २९ भदौ २०८१, शनिबार

देश र जनताका निम्ति काम गरौँ: उपराष्ट्रपति

blog

उपराष्ट्रपति रामसहाय यादव शनिबार पश्चिम नवलपरासीमा १४९९औँ मोहम्मद जयन्तीका अवसरमा आयोजित कार्यक्रममा बोल्नुहुँदै । तस्बिर : रासस

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), भदौ २९ गते । उपराष्ट्रपति रामसहाय यादवले धर्मभन्दा माथि उठेर देश र जनताका निम्ति काम गर्न आवश्यक भएको बताउनुभएको छ ।

शनिबार पश्चिम नवलपरासीमा १४९९औँ मोहम्मद जयन्तीका अवसरमा आयोजित राष्ट्रिय एकता एवम् पैगामे अमन सम्मेलनमा उहाँले धर्मभन्दा माथि उठेर जनता र देशका लागि काम गर्नुपर्नेमा जोड दिनुभयो ।

उपराष्ट्रपतिले भन्नुभयो, “सामाजिक कार्य र धार्मिक उत्सवहरूमा सक्रिय सहभागिता र अन्तरघुलन बढाउन जरुरी छ । कुनै पनि धर्मको मूलमन्त्र मानवता, प्रेम, सद्भाव, सहिष्णुता र सहयोग अभिवृद्धि गर्नु हो ।”

देशमा शान्ति तथा अमनचयन कायम गर्न दया, करुणा, इमान्दारी, परोपकारी भाव एवम् व्यवहार आवश्यक पर्ने  उहाँले बताउनुभयो । अनेकतामा एकता नेपालको विशेषता भएको चर्चा गर्दै यो विविधतालाई अझ सुदृढ बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

उपराष्ट्रपतिले भन्नुभयो, “देशको चौतर्फी विकासका निम्ति हामीबिच एकता हुन जरुरी छ । एकता नै बल हो भन्ने यथार्थलाई हामी सबैले सधैँ आत्मसात् गर्नुपर्छ ।”

विभिन्न धर्मका धर्मगुरुहरूको उपस्थितिमा भएको उक्त कार्यक्रममा उपराष्ट्रपतिसहित मञ्चासिन सबै धर्मगुरुहरूले शान्तिका प्रतीक परेवाहरू उडाउनुभएको थियो । रासस