• २९ भदौ २०८१, शनिबार

हेर्दाहेर्दै (कविता)

blog

हेर्दाहेर्दै

गाउँको धुपे खोलो सुक्यो

खोलासँगै गँगटा, भुरा र गँड्यौला हराए

डुबुल्की मारेका दह हराए

कुलो सुक्यो, गरा फाटे, बाली पाक्न छोड्यो ।


हात समाई खुट्टा टेक्न सिकाउने अभिभावक हराए

अक्षर चिनाउने गुरु हराए

तिउहारमा नासो पठाउने आफन्त हराए

चौरमा सँगै खेल्ने यार हराए


हेर्दाहेर्दै

बाढी र पहिरो सँगै आए

खडेरी र अनिकाल पनि आए

बगर पुछियो, बगरका गरा हराए

भकारी हराए अनि कोठा, डाली रित्तिए

खोलाको तुसारो, पारि वनको तिल्खुरो सकियो

छहरी खोलाको काफल, माटिखानको डिमर

जैलुको बेरु, नुरीको चुली सबै सकिए


हेर्दाहेर्दै

गाडी आयो, गाडी चढेर दारु आयो

तामझामसहित चना आयो, चामल आयो

चाउचाउ, कोक, सुर्ती, के के हो के के

गाडी चढेरै आए

मोही हरायो, जाउलीको भात हरायो

चिनो, कागुनो, जुनेलो, उवा, मास्र्यासँगै

भाँड्याको सागसमेत हरायो ।


गाउँ नगर बन्यो

कुलो नहर बन्यो

बजार सहर बन्यो

बाटो सडक बन्यो


हेर्दाहेर्दै

अस्पतालमा डाक्टर हराए

पाठशालामा विद्यार्थी हराए

मन्दिरका पुजारी हराए

माडुका धामी हराए, गाउँका युवा हराए

जिउलाको नोरालो, कुलोको खेतालो, वनको हेरालो सबै हराए ।


हेर्दाहेर्दै 

मान्ठ भाषण गर्ने भए, भाषण गर्ने नेता बने

नेता बनेरै काठमाडौँका घरबेटी बने

भाषण सुनेर भोट हाल्ने काका

मुग्लान पसे

भाइ खाडीमा फस्यो

बाँदर गाउँ पसे ।


हेर्दाहेर्दै 

समय पनि बदलिएछ

अस्ति, हिजो र पोहोर हुँदै

बर्सौं बितिसकेछन्

म भने

सयौंँ हजार यादका चक्कीहरू

दबाई झैँ मनमा पोको पारेर

समयको चौकीदार बनिरहेछु । 

Author

नारायण रेग्मी