• ११ मंसिर २०८१, मङ्गलबार

गुणस्तरीय सामग्री उत्पादन गर्न सुझाव

blog

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ

गोरखापत्र समाचारदाता 

काठमाडौँ, भदौ २९ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामुदायिक रेडियोले श्रोताप्रति उत्तरदायी भएर गुणस्तरीय समाचार सामग्री उत्पादन गर्नुपर्ने बताउनुभएको छ । 

सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) को १८ औँ वार्षिक साधारण सभा तथा आठौँ अधिवेशनको शुक्रबार उद्घाटन समारोह कार्यक्रममा सञ्चारमन्त्री गुरुङले सामुदायिक रेडियो बचाउन आफ्नोतर्फबाट प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सामुदायिक रेडियो क्षेत्रमा क्यान्सरै त भएको होइन । रेडियोहरू बिरामी अवस्थामा भएकाले उपाय निकाल्नु पर्छ । त्यसका लागि मेरोतर्फबाट इमानदार प्रयास र प्रयत्न हुने छ ।”

मन्त्री गुरुङले एक वर्षभित्र सञ्चारसँग सम्बन्धी सबै पुराना ऐन तथा कानुन हटाएर नयाँ कानुन ल्याउन लागेको जानकारी दिनुभयो । उहाँले सञ्चार क्षेत्रमा समस्या बढी भएकाले काम गर्ने अवसरका रूपमा लिएको बताउनुभयो । 

रेडियो नेपाल, गोरखापत्र संस्थान र राष्ट्रिय समाचार समिति (रासस), हुलाक सेवालगायत सञ्चार संस्थाहरू पञ्चायती ऐन कानुनबाट सञ्चालन भएको भन्दै उहाँले नेपाल टेलिभिजन, प्रेस काउन्सिल ऐनलगायत नयाँ ऐनबाट सञ्चालित भए पनि प्रभावकारी काम गर्नुपर्ने देखिएको उल्लेख गर्नुभयो । उहाँले सार्वजनिक प्रसारण ऐनको विधेयक संसद्बाट पास भएकाले अरू सञ्चार कानुन बिस्तारै बन्दै जाने दाबी गर्नुभयो । 

मन्त्री गुरुङले भन्नुभयो, “आमसञ्चार विधेयकको ड्राफ्ट तयार गरिसकेका छौँ । अर्थ मन्त्रालय र कानुन मन्त्रालयबाट सहमति लिएपछि पारित हुन्छ । मिडिया काउन्सिल समितिमा छलफलको क्रममा छ । सामाजिक सञ्जालको प्रयोग र नियमन गर्ने कानुन सबैभन्दा बढी आवश्यकता हो । त्यो मन्त्रीपरिषद्बाट छिट्टै पारित हुन्छ ।” प्रधानमन्त्रीले समेत साइबर सुरक्षासम्बन्धी कानुन छिटो बनाउन भन्नुभएको उल्लेख गर्दै उहाँले नेपालमा साइबर सुरक्षा सबैभन्दा चुनौतीपूर्ण अवस्थामा रहेको बताउनुभयो । उहाँले यस वर्षभित्र सबै नीतिगत काम पूरा हुने जानकारी दिनुभयो ।

नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले रेडियोका समस्या समाधानका लागि सबै पक्ष एकताबद्ध भएर उपायको खोजी गर्नुपर्ने बताउनुभयो । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले राज्यले रेडियो जोगाउने नीति ल्याउनुपर्नेमा जोडदिनुभयो ।

सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) का अध्यक्ष अर्जुन गिरीले रेडियोको सामग्री उत्पादन गुणस्तरीय हुँदै गएमा अझै पनि रेडियोको भविष्य रहेको दाबी गर्नुभयो ।

राजनीतिक शुद्धीकरण आवश्यक

सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले मूल नीतिका रूपमा रहेको राजनीतिक चरित्र शुद्धीकरण गर्नु आवश्यक रहेको बताउनुभएको छ ।

राष्ट्रिय समाचार समितिका अनुसार ६० औँ बालदिवसका सन्दर्भमा शुक्रबार नक्सालस्थित बालमन्दिरमा आयोजित बालगीत प्रतियोगिताको उद्घाटन गर्दै सञ्चारमन्त्री गुरुङले राजनीतिमा पछिल्लो समय इमानदार र सेवाभाव कम हुँदै गएकाले शुद्धीकरण अत्यन्त जरुरी रहेको धारणा राख्नुभयो । अस्थिर राजनीतिका कारण जनतामा उदासीनता र युवामा विद्वेष भाव देखा परेकाले स्थायित्वका लागि राजनीतिक शुद्धीकरण जरुरी रहेको बताउनुभयो ।

सचेत व्यक्ति, विद्यार्थी र बौद्धिक व्यक्तिले राजनीतिमा चासो राख्ने भन्दै मन्त्री गुरुङले राजनीतिलाई सही दिशामा ल्याउन सबैले आआफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । रेडियो नेपाल र बाल सङ्गठनको सहकार्यमा बालगीत प्रतियोगिता–२०८१ आयोजना गरिएको छ । कार्यक्रममा मन्त्री गुरुङले रेडियो नेपाल र नेपाल टेलिभिजन एकीकृत गर्ने सार्वजनिक सेवा प्रसारण ऐन पास भएपछि रेडियो नेपाल थप व्यवस्थित र बलियो बन्नुका साथै सेवा विस्तार हुँदै जाने जानकारी दिनुभयो ।

रेडियो नेपालका नायव कार्यकारी निर्देशक खगेन्द्र खत्रीले रेडियो नेपाल र नेपाल बाल सङ्गठनले लामो समयदेखि प्रत्येक वर्ष बालगीत प्रतियोगिता आयोजना गर्दै आएको बताउनुभयो । नेपाल बाल सङ्गठनका अध्यक्ष विद्या उपाध्याय न्यौपानेले बालबालिकासँग गरिने ससाना कुराले पनि ठुलो महत्व राख्ने हुँदा बालबालिकाका भावना बुझेर उनीहरूको जीवन सार्थक बनाउने गरी गतिविधि गर्नुपर्ने बताउनुभयो । बालगीत प्रतियोगितामा १८ वटा समूहमा बालबालिकाले भाग लिएका छन् ।