• २९ भदौ २०८१, शनिबार

वीरमा जलन कक्ष सञ्चालन

blog

काठमाडौँ, भदौ २९ गते । बन्द भएको नौ वर्षपछि वीर अस्पतालमा जलन उपचार कक्ष सञ्चालनमा आएको छ । 

जलनको नियमित उपचार भइरहेको वीर अस्पतालमा २०७२ सालको भूकम्पपछि ‘जलन उपचार कक्ष’ नै बन्द भएको थियो । शुक्रबारबाट सञ्चालनमा आएको सो कक्षमा कुल १५ वटा बेड छन् । १५ मध्ये १० जनरल र पाँच बेड आइसियुमा छन् । यस्तै तीन शल्यक्रिया कक्ष छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले शुक्रबार डा. केडी जोशी जलन उपचार केन्द्रको शुभारम्भ गर्नुभयो ।  

मन्त्री पौडेलले जलनका गम्भीर घाइते बिरामीको उपचारमा एक लाख रुपियाँ दिने तयारीमा सरकार लागेको जानकारी दिनुभयो । उहाँले सरकारले कडा रोगका बिरामीका लागि उपचारमा एक लाख रुपियाँ सहुलियत दिने गरेको जानकारी दिँदै त्यसमा जलनका बिरामी पनि समेटिने बताउनुभयो । उहाँले जलनका घाइतेलाई एक लाख रुपियाँ दिने प्रस्ताव अघि बढाइएको जानकारी दिनुभयो । 

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्राडा भूपेन्द्रकुमार बस्नेतले वीर अस्पताल नहुने वर्गको अस्पतालका रूपमा रहेकाले सहुलियत दरमा जलन वार्डमा उपचार गराइने बताउनुभयो । कार्यक्रममा अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले अस्पतालले सुविधासम्पन्न सेवा दिने भन्दै जलेका बिरामीलाई अब अन्यत्र रिफर गर्नुनपर्ने बताउनुभयो । सरकारले जलन उपचार केन्द्र निर्माणका लागि आर्थिक वर्ष २०८०/८१ मा बजेट विनियोजन गरेको थियो । 

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका शिक्षाध्यक्ष डा. लोचन कार्कीले वीरमा जलन भएका बिरामीको जटिल उपचार हुने भएपछि निजी क्षेत्रमा महँगो उपचार गराइराख्नुनपर्ने बताउनुभयो । नेपालमै जलनको उपचार सुरुवात गर्ने वरिष्ठ प्लास्टिक सर्जन डा. केशवदास जोशीले २०४३ देखि वीर अस्पतालबाट जलन उपचार सुरु गर्नुभएको थियो । उहाँको नामबाट अस्पतालले जलन उपचार केन्द्रको नामकरण गरेको हो । 

 हाल नेपालमा त्रिवि शिक्षण अस्पतालमा नौ वटा बेड जलनका बिरामीका लागि छुट्याइएको छ भने प्राइभेटमा कीर्तिपुर बर्न अस्पतालमा मात्र जलनको उपचार हुने गरेको छ ।   

Author
सरोज ढुङ्गेल

उहाँ गोरखापत्रका लागि स्वास्थ्य क्षेत्रको रिपोर्टिङ गर्नुहुन्छ ।