• २५ पुस २०८१, बिहिबार

स्थानीय तहमा बेथिति : आम्दानीभन्दा दुई सय प्रतिशत बढी खर्च

blog

कमल शर्मा

दैलेख, भदौ २७ गते । जिल्लाका स्थानीय तहले आन्तरिक आम्दानीभन्दा दुई सय प्रतिशत रकम सेवा सुविधामा खर्च गर्ने गरेका छन् । सङ्घीय सरकारमार्फत आउने राजस्व बाँडफाँट, अनुदान रकमलाई विकास निर्माणभन्दा पनि जनप्रतिनिधि र कर्मचारीको सेवा सुविधामा खर्च गर्ने गरेको महालेखाले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को प्रतिवेदनमा उल्लेख गरिएको छ । 

दुल्लु नगरपालिकाले आव २०७९/८० मा कुल आन्तरिक आम्दानी ५३ लाख ३९ हजार ८४१ रुपियाँ, राजस्व बाँडफाँटबाट नौ करोड ५१ लाख ७८ हजार ८३० रुपियाँ, अन्य आय दुई करोड ४२ लाख ७० हजार ३५६ रुपियाँ र अनुदानबाट ६५ करोड ५१ लाख ४८ हजार ७७३ रुपियाँसमेत ७७ करोड ९९ लाख ३७ हजार आठ सय रुपियाँ आम्दानी गरेको थियो तर गत वर्षको जिम्मेवारी रकमसमेतबाट चालुतर्फ ५२ करोड ४३ लाख ४५ हजार ६८५ रुपियाँ र पुँजीगततर्फ २६ करोड २० लाख ९९ हजार ६४० रुपियाँसमेत गरेर ७८ करोड ६४ लाख ४५ हजार ३२५ रुपियाँ खर्च गरेको छ । 

खर्चमध्ये आन्तरिक आयको हिस्सा ०.६८ प्रतिशत मात्र रहेको छ । आव २०७९/८० मा पदाधिकारी सुविधामा एक करोड ४१ लाख ५४ हजार खर्च भएको छ, जुन आन्तरिक आयको २६५ प्रतिशत बढी रहेको छ । त्यस्तै नगरपालिकालाई प्राप्त भएको सबै अनुदान र राजस्व बाँडफाँटको रकमबाट ६६.६७ प्रतिशत चालु र ३३.३३ प्रतिशत मात्र पुँजीगत निर्माणमा खर्च भएको देखिन्छ । यसबाट नगरपालिकाले विकास निर्माण कार्यक्रम सञ्चालनमा न्यून खर्च गरी प्रशासनिक कार्यमा बढी खर्च गरेको देखिएको महालेखाले प्रतिवेदनमा जनाएको छ । प्रशासनिक खर्च नियन्त्रण गर्दै प्राप्त अनुदान र राजस्व बाँडफाँटको रकम अधिक रूपमा विकास निर्माणमा परिचालन गर्न महालेखाले सुझाएको छ ।

त्यस्तै नौमुले गाउँपालिकाले आव २०७९/८० मा २८ लाख ४५ हजार ७७५ रुपियाँ आम्दानी गर्‍यो ।  पालिकाले राजस्व बाँडफाँट र अन्य अनुदान गरी कुल ४८ करोड ५१ लाख १९ हजार ५२९ रुपियाँमध्ये चालुतर्फ ३५ करोड ४७ लाख २६ हजार ५९१ खर्च गर्दा पुँजीगततर्फ १३ करोड चार लाख ९० हजार ९३२ रुपियाँ खर्च गर्‍यो । गाउँपालिकाले खर्च गरेको कुल बजेटमध्ये आन्तरिक आयको हिस्सा ०.५८ रहेकोमा गाउँपालिकाका जनप्रतिनिधिको सेवा सुविधामा ५९ लाख ७० हजार खर्च गर्‍यो । जुन आन्तरिक आयको २०८.९४ प्रतिशत बढी हो । महालेखाले भनेको छ, “गाउँपालिकालाई राजस्व र अनुदानबाट प्राप्त भएको रकमको ७३.११ प्रतिशत चालुमा र २६.८९ प्रतिशत पुँजीगतमा खर्च भएको छ । गाउँपालिकाले विकास निर्माण कार्यमा कम खर्च गरी प्रशासनिक कार्यमा बढी खर्च गरेको छ । प्रशासनिक कार्यमा कम खर्च गरी विकास निर्माणका काम वा उत्पादनमुखी क्षेत्रमा धेरै बजेट खर्च गर्नू ।” 

त्यस्तै नारायण नगरपालिकाले आन्तरिक आम्दानीभन्दा ७१.०४ प्रतिशत बढी रकम जनप्रतिनिधिको सेवा सुविधामा खर्च गरेको छ । नगरपालिकाले ९८ लाख ३४ हजार ३७८ आम्दानी गरेकोमा जनप्रतिनिधिको सेवा सुविधामा ६९ लाख ८६ हजार खर्च गरेको छ । कुल बजेटमध्ये चालु खर्चमा धेरै, पुँजीगत खर्चमा कम गरेको भन्दै महालेखाले नगरपालिकालाई विकास निर्माण वा उत्पादनमुखी कार्यक्रममा खर्च गर्न सुझाव दिएको छ । 

चामुण्डा बिन्द्रासैनी नगरपालिकाले आव २०७९/८० मा ३४ लाख ५५ हजार ७४५ आम्दानी गरेकोमा जनप्रतिनिधिको सेवा सुविधामा ९१ लाख २३ हजार खर्च गरेको छ । नगरपालिकाले आन्तरिक आम्दानीभन्दा २६४ प्रतिशत जनप्रतिनिधिको सेवा सुविधामा खर्च गरेको भन्दै सेवा सुविधाभन्दा अन्य विकास निर्माणका काममा खर्च गर्न महालेखाले नगरपालिकालाई सुझाव दिएको छ । आठबिस नगरपालिकाले ३१ लाख एक हजार ३५१ रुपियाँ आम्दानी गरेकोमा जनप्रतिनिधिको सेवा सुविधामा मात्र ९३ लाख ३२ हजार खर्च गरेको छ । जुन आन्तरिक आम्दानीको २८२.६७ प्रतिशत बढी हो । नगरपालिकाले चालुतर्फ ७० प्रतिशत र पुँजीगततर्फ ३० प्रतिशत बजेट विनियोजन गरेको थियो । 

डुङ्गेश्वर गाउँपालिकाले आन्तरिक आम्दानीभन्दा २५२.९९ प्रतिशत बढी रकम सेवा सुविधामा खर्च गरेको छ । गाउँपालिकाले कुल बजेटको ७३ प्रतिशत चालु र २६ प्रतिशत पुँजीगतमा खर्च गरेकोमा पदाधिकारीको सेवा सुविधामा ५४ लाख ४२ हजार खर्च गरेको छ । त्यस्तै भगवतीमाई गाउँपालिकाले ३१ लाख ३० हजार पदाधिकारीको सेवा सुविधामा खर्च गरेको छ भने आन्तरिक आम्दानी ४६ लाख ५३ हजार ५६३ रुपियाँ गरेको छ । जुन आन्तरिक आम्दानीको ६७.४१ प्रतिशत बढी हो । 

त्यस्तै जिल्लाको महावु गाउँपालिकाले आन्तरिक आम्दानीको शतप्रतिशत खर्च गरेको छ । पदाधिकारीको सेवा सुविधामा ५८ लाख आठ हजार खर्च गरेको गाउँपालिकाले आन्तरिक आम्दानी भने ५७ लाख ९२ हजार १२० रुपियाँ गरेको थियो । गाउँपालिकाले ६७.५६ प्रतिशत चालु र ३२.४४ प्रतिशत पुँजीगतमा खर्च गरेको थियो । भैरवी गाउँपालिकाले आन्तरिक आम्दानीभन्दा ६४७ प्रतिशत बढी पदाधिकारीको सेवा सुविधामा खर्च गरेको छ । गाउँपालिकाले आन्तरिक आम्दानी आठ लाख ४४ हजार ६१० रुपियाँ आम्दानी गर्दा पदाधिकारीको सेवा सुविधामा ५४ लाख ६० हजार खर्च गरेको छ । गुराँस गाउँपालिकाले कुल आन्तरिक आयबाट ६८ लाख ७६ हजार ३८४ रुपियाँ आम्दानी गरेकोमा पदाधिकारीको सेवा सुविधामा ६० लाख १२ हजार खर्च गरेको छ । जुन आन्तरिक आम्दानीको ८७.४३ प्रतिशत बढी हो । पालिकाले राजस्व बाँडफाँटबाट ६७.१२ प्रतिशत चालु र ३२.८७ प्रतिशत पुँजीगतमा खर्च गरेको छ ।