• २४ असोज २०८१, बिहिबार

उपसभामुखलाई हटाए लोकतन्त्रको मान मर्यादा रहँदैन : अध्यक्ष राउत

blog

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत ।

काठमाडाैं, भदाै २६ गते । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले गलत नियतका साथ उपसभामुखलाई हटाउन खोजिएको बताउनुभएको छ । अध्यक्ष राउतले सरकारले गलत नियतका साथ उपसभामुख इन्दिरा रानालाई हटाउन लागेको बताउनुभएको हो । 

उहाँले सरकारले संवैधानिक परिषदमा आफ्नो बहुमत पुर्‍याउनका लागि उपसभामुखलाई हटाउन लागेको बताउनुभयो । संवैधानिक परिषदमा बहुमत नपुग्दा आफ्नो मान्छेलाई नियुक्त गर्न गाह्रो भएकाले गलत नियत राखिएको उहाँको भनाइ छ । अध्यक्ष राउतले उपसभामुखलाई हटाए लोकतन्त्रको मान मर्यादा नरहने बताउनुभयो । 

उहाँले भन्नुभयो, "एकदम गलत नियतका साथ भइरहेको छ । संवैधानिक परिषदमा बहुमत पुर्‍याउनका लागि भइरहेको छ । अहिले आदि आदि भयो । ३–३ वटा सिट भएपछि त्यहाँबाट आफ्नो मान्छेलाई नियुक्त गर्न गाह्रो भयो भनेर हटाउनका लागि यो भइरहेको छ । जुन गलत नियतका साथ हुन्छ, त्यो पक्कै पनि गलत नै हुन्छ । यसो नगर्दिए अलिकति लोकतन्त्रको मान मर्यादा रहन्थ्यो कि जस्तो हामीलाई लाग्छ । किनकी उपसभामुखज्यू एकदम प्रतिष्ठित र सबैभन्दा योग्य व्यक्तिहरुमध्ये एक हुनुहुन्छ जस्तो मलाई लाग्छ ।"

यस्तै, उहाँले अहिलेको सरकारको बारेमा हामीलाई खासै जानकारी नभएकाे बताउँदै हिजो अस्ति सत्ता गठबन्धनको बैठक बसेकाेबारे जानकार भएकाे उल्लेख गर्नुभयाे । 

"कता के भइरहेको छ ? अहिलेसम्म न्यूनतम साझा कार्यक्रम पनि बनेको अवस्था छैन । न त कसैसँग छलफल हुन्छ । न त सरकारको भिजिबिलिटी कतै देखेको छु मैले । हामी सत्ता पक्ष हो कि विपक्षीमा हो त्यो मलाई पनि थाहा छैन खासमा । म चाहिँ खासै काम, कारबाही अगाडी बढेको जस्तो, सरकार भएको जस्तो महसुस देख्दिनँ । उल्टै के देखिन्छ भन्दाखेरी साना पार्टीहरुलाई अरु पार्टीहरुले कसरी सखाप पार्ने ? केही सीमित नेताहरुलाई मात्रै कसरी प्रतिशोध साँध्ने ? त्यसमा प्रतिनिधि सभा पनि केन्द्रित भएको र सरकार पनि केन्द्रित भएको मैले देखेको छु," उहाँले भन्नुभयाे । 

उहाँले सरकार र प्रतिनिधि सभा साना पार्टीहरुलाई कसरी सखाप पार्न सकिन्छ भन्नेमा केन्द्रित भएको बताउनुभयो । उहाँले आफूले सरकार भएको महसुस गर्न नसकेको पनि बताउनुभयो ।