अनिल पराजुली
हेटौँडा, माघ ३ गते । हेटौँडा–काठमाडौँ सडक खण्डअन्तर्गत मकवानपुरको भीमफेदीमा कार दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
भीमफेदी गाउँपालिका–६, जुरिखेतमा भएको दुर्घटनामा कार चालक काभ्रे धुलिखेल नगरपालिका–९ का ६८ वर्षीय शिवप्रसाद सिक्देल, काभ्रे मण्डलदेवपुर नगरपालिका–१ का ४७ वर्षीय रामेश्वर ढकाल र काठमाडौँ महानगरपालिका–३२ का ६१ वर्षीय दीपक केसी घाइते हुनु भएको हो । दुर्घटना शुक्रबार भएको हो ।
घाइतेहरूको छाती, हात, टाउको, ढाड र अनुहारमा चोट लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुस्कर बोगटीले जानकारी दिनु भयो । हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.०१–०२६ च. ३८९० नम्बरको कार सडकबाट करिब ३० मिटर तल खसेर दुर्घटना भएको थियो ।
घटनापछि इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक सन्तकुमार श्रेष्ठको नेतृत्वमा सात जना ट्राफिक प्रहरी घाइते तीन जनालाई उद्धार गरी उपचारका लागि भीमफेदी अस्पताल पठाइएको थियो । कार भने घटना स्थलमै रहेको छ ।