• २६ पुस २०८१, शुक्रबार

भूकम्पपीडितलाई बर्खामा थप पीडा

blog

फाइल तस्बिर गोरखापत्र

खलङ्गा समाचारदाता 

जाजरकोट, भदौ २६ गते ।  जाजरकोट र रुकुमपश्चिमका बासिन्दा भूकम्पपछि आवासविहीन भएका छन् । जसले गर्दा भूकम्पपीडितले झन् पीडा भोग्नु परिरहेको छ । 

हिउँदमा त्रिपालमुनि, गर्मीमा टिनको छानामुनि बस्दै आएका पीडित मनसुनजन्य घटनाले थप पीडित भएका छन् । भिरालो जमिन भूकम्पले धाँजा फाँटेका पहाडमुनिका बस्तीका बासिन्दालाई दिनरात बिताउन मुस्किल भएको छ । 

गत कात्तिक १७ गते मध्यरात बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रविन्दु भएर गएको विनाशकारी भूकम्पले भेरी नगरपालिका, नलगाड नगरपालिका, कुसे गाउँपालिका, छेडागाड नगरपालिकामा भूकम्पले धनजनको बढी क्षति भएको छ । भूकम्पका कारण घरवारविहीन बासिन्दा चिसो मौसममा आगो तापेर रातदिन बिताएका थिए भने बर्सातमा बाढीपहिरोले ज्यान बचाउन कठिनाइ भएको छ । 

सरकारले अस्थायी आवासका लागि दिएको पहिलो किस्ता र साहुबाट कर्जा लिई बनाएका टहरामा पुस/माघको चिसो, चैत/वैशाखको गर्मीमा दिन बिताए पनि अविरल वर्षाका कारण छिमेकीका घरटहरा बर्खाको बाढीपहिरोले बगाउन थालेपछि डर त्रासमै बस्ने गरेका छन् । भूकम्पपछि खेतीयोग्य जमिनमा अस्थायी आवास बनाएर बसेपछि नाना, खानामा समस्या आएको छ  । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेका अनुसार मनसुनजन्य विपत् बढ्दै गएकाले सुरक्षित स्थानमा बस्न गाउँ तथा नगरपालिकामा रहेका प्रहरी युनिटले सूचना गर्दै आएका छन् । सोही अनुसार भिरालो जमिनमा घर तथा टहरा बनाई बसेका स्थानीयलाई घरदेखि तलमाथिको भूगोलको अवस्थालाई हेरेर सुरक्षित बस्न उहाँले आग्रह गर्नुभयो । 

विपत्जन्य घटनाबाट जेठदेखि भदौ २२ गतेसम्म बाढीबाट कुसे गाउँपालिकामा एक जना, नलगाड नगरपालिकामा एक जना, बारेकोट गाउँपालिकामा एक जना गरी तीन जना बेपत्ता भएका छन् । घरमा पहिरो खसेर भेरी नगरपालिका–५, इवरमा एक बालक, नलगाड नगरपालिका–२ मा आमाबुबासहित बालक, पहिरोले घर पुरिँदा बारेकोट गाउँपालिका–६, पल्लो धुमागाउँमा ४७ वर्षीय मानबहादुर चलाउने र ३८ वर्षीय श्रीमती प्रेमकुमारी चलाउनेको मृत्यु भएको छ  । ११ वर्षीय छोरी सम्झना चलाउने घाइते भएकी छन् । 

नलगाड नगरपालिका–१, चिउरी गाउँका लालबहादुर कामीले श्रम रोजगारीबाट भूकम्पपछि चिसो, गर्मी छिचोल्दै बिहान बेलुकाको गर्जो टारेका सर्वसाधारणलाई बर्खाको बाढीपहिरोले सताउन थालेपछि डर त्रासमै दिनचर्या बित्ने गरेको बताउनुभयो । नलगाड नगरपालिका–४ का चुनीलाल शर्माले भिरालो जमिनमा बनाएका घरमा माथिबाट पहिरो आएर घरसँगै मान्छेलाई क्षति पुर्‍याउन थालेपछि गाउँबस्तीमा त्रास भइरहेको बताउनुभयो । 

राति पर्ने पानीले बाढीपहिरोको जोखिम बढ्न थालेपछि सर्वसाधारण आफैँ सचेत हुनुपर्ने उहाँले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बर्खा अझै नरोकिएको र  बाढीपहिरोको जोखिम अझै पनि भएकाले भिरालो जमिनमा बसोबास गरेका सर्वसाधारणलाई सचेत हुन आग्रह गर्नुभएको छ ।