• २६ पुस २०८१, शुक्रबार

प्रयोगमा आउन थाल्यो कम्प्युटर शिक्षा

blog

कालीकोट समाचारदाता

कालीकोट, भदौ २६ गते । सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षा पुनः प्रयोगमा ल्याउन थालिएको छ । राष्ट्रिय पाठ्यक्रम प्रारूप–२०७६ ले खारेज गरेको कक्षा ६ र ८ को अनिवार्य कम्प्युटर शिक्षा अहिले पुनः प्रयोगमा ल्याउन थालिएको छ । अहिले कक्षा ६ देखि १० सम्म अनिवार्य रूपमा विज्ञान तथा प्राविधिक शिक्षाका रूपमा विकास गरेपछि कम्प्युटर शिक्षा प्रयोगमा आउन थालेको हो । 

अर्कोतर्फ ऐच्छिक रूपमा कक्षा ९ र १० का लागि कम्प्युटर शिक्षासमेत समावेश गरेकाले सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षा प्रयोगमा आउन थालेको हो । सुरुमा दक्ष जनशक्तिबिना सुरु गरिएको कम्प्युटर शिक्षा केही वर्ष नाममा मात्र सीमित भयो । उक्त विषय प्रभावकारी नभएपछि बिचैमा रोकेर विज्ञान विषयसँग प्रविधि जाडेर पुनः कम्प्युटर शिक्षा प्रयोगमा आउँदा विद्यार्थी उत्साहित भएका छन् । 

नेपाल सरकार शिक्षा मन्त्रालयसँगको समन्वयमा नेपाल दूरसञ्चार प्राधिकरणको सहयोगमा कालीकोट जिल्लाको मोतीराम माध्यमिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना गरिएको थियो तर दक्षताकै अभावले अलपत्र परेको थियो ।

पछिल्लो समय विद्यालयले कम्प्युटरसम्बन्धी जानकार भएका शिक्षकको व्यवस्थापन गरेपछि विस्तारै कम्प्युटर ल्याब प्रयोगमा आएको छ । मोतीराम माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा बबिता चौलागाईंले कम्प्युटर ल्याब प्रयोगमा आउँदा कम्प्युटर सिक्न सहज भएको बताउनुभयो । 

छात्रा चौलागाईंले कक्षा ९ देखि नै ऐच्छिक विषयका रूपमा कम्प्युटर विषय लिनुभएको थियो तर कम्प्युटरको अभ्यास नभएर यो शिक्षाको पढाइ समस्याका रूपमा रहेका बेला ल्याब सञ्चालनमा आउँदा निकै खुसी लागेको बताउनुभयो । 

मोतीराममा ल्याब सञ्चालनका लागि भनेर नेपाल दूरसञ्चार प्राविधिकरणले ३० वटा कम्प्युटर सहयोग गरेको थियो । २०७४ सालदेखि कम्प्युटर ल्याब सुरु गर्ने उद्देश्यले सुरु गरिएको भए पनि कम्प्युटरसम्बन्धी जानकारी भएका शिक्षक अभावले प्रयोगमा आउन सकेको थिएन । अहिले बल्ल ती कम्प्युटर प्रयोगमा आउन थालेका छन् । 

रास्कोटकै कालाशिल्ला माध्यमिक विद्यालयमा पनि चार वटा कम्प्युटर राखेर पालैपालो विद्यार्थीलाई अभ्यास गराउन थालिएको छ । सुरुमा अभ्यासबिना कम्प्युटर शिक्षा प्रयोगमा ल्याएको भए पनि पछिल्लो समय सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षाको अभ्यास सुरु हुन थालेपछि विद्यार्थी पनि उत्साहित भएका छन् । विद्यालयका प्रधानाध्यापक देवराज चौलागाईंले थोरै स्रोतसाधनबाट भए पनि विद्यार्थीको इच्छा पूरा गर्ने र कम्प्युटरसँग जानकार गराउन थालिएको बताउनुभयो । 

जिल्लाका अन्य सरकारी विद्यालयमा पनि यो अभ्यास भइरहेको छ । रास्कोटकै बडीमालिका माध्यमिक विद्यालयमा पनि कम्प्युटर अभ्यास लामो समयदेखि चलिरहेको छ । अहिले कम्प्युटर शिक्षकको व्यवस्था भएपछि विद्यार्थीलाई पढाउन पनि सहज भएको विद्यालयको भनाइ छ । 

सरकारी अनुदान र विभिन्न निकायले सहयोग गरेर विद्यालयलाई प्रदान गरिएका कम्प्युटरको सही प्रयोग गराउन सकेमा राम्रो उपलब्धि देखिने सरकारी निकायको भनाइ छ । शिक्षा विकास तथा समन्वय एकाइ कालीकोटका प्रमुख लालप्रसाद पोख्रेलले स्रोतको व्यवस्थान गराएर सबै विद्यालयमा कम्प्युटर अभ्यास गराउनुपर्ने बताउनुभयो ।