• २६ पुस २०८१, शुक्रबार

मनसुनजन्य प्रभावितले पाएनन् अनुदान

blog

विसं २०७८ मा मनसुनजन्य प्रभावित मेलम्ची नगरपालिकाका ।

चित्र मिजार 

सिन्धुपाल्चोक, भदौ २६ गते । मनसुनजन्य विपत् प्रभावित तथा बाढीपीडितले घरपरिवार, सम्पत्ति गुमाएको तीन वर्ष हुँदासमेत स्थायी आवासका लागि सरकारले दिने अनुदान रकम पाउन सकेका छैनन् । मनसुनजन्य विपत्बाट सिन्धुपाल्चोकमा एक हजार ८९३ परिवार प्रभावित रहेको नेपाल सरकार तथा राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कमा छ तर तीन वर्ष हुँदासमेत उक्त कार्यालयले मनसुनजन्य प्रभावितलाई अनुदानबापतको रकम दिएको छैन । स्थायी आवास पुनर्निर्माणको रकम नदिँदा प्रभावित जोखिमयुक्त स्थान टहरामा बस्न बाध्य छन् ।

कतिपय प्रभावितले लघुवित्त, सहकारी, बैङ्क र व्यक्तिसँग ऋण लिएर घर बनाएका छन् । २०७७ मा प्राधिकरणले बनाएको मनसुनजन्य विपत् प्रभावित निजी आवास तथा पुनस्र्थापना कार्यविधिबमोजिम सिन्धुपाल्चोकका मनसुनजन्य विपत् प्रभावितलाई समेटेर अनुदान रकम प्रदान गर्ने नीति लिइएको थियो तर उक्त कार्यविधिलाई सुधार गरी एकीकृत कार्यविधि बनाउन लागे पनि पूर्णता नपाउँदा लामो समयसम्म उनीहरूले अनुदान रकम पाउन नसकेका हुन् ।

जिल्ला विपत् व्यवस्थापन समितिका सूचना अधिकृत रवि धितालले कार्यविधिमा पश्चिम नेपालका भूकम्पपीडितलाई समावेश गरेर नयाँ कार्यविधि निर्माण गर्ने र सो अनुसार आवास निर्माण गर्न अनुदान रकम उपलब्ध गराउने प्राधिकरणको पछिल्लो योजनाका कारण अनुदान भुक्तानी रोकिएको बताउनुभयो । कार्यविधिबमोजिम २०७७ जेठपछि भएका विपत्जन्य घटनाबाट प्रभावितका आवास पुनर्निर्माण तथा पुनस्र्थापनाका लागि हिमाली जिल्लामा पाँच लाख, पहाडी जिल्लामा चार लाख र तराईका जिल्लामा तीन लाख रुपियाँ अनुदान उपलब्ध गराइने छ । सिन्धुपाल्चोक हिमाली जिल्ला अन्तर्गत पर्छ । कार्यविधिमा सङ्घीय सरकारबाट नगरपालिकाको हकमा ५५ प्रतिशत, गाउँपालिकाको हकमा ६० प्रतिशत, प्रदेशले ३० प्रतिशत, गाउँपालिकाले १० प्रतिशत र नगरपालिकाले १५ प्रतिशत बेहोर्नुपर्ने उल्लेख छ । 

सिन्धुपाल्चोकका लाभग्राहीले हालसम्म पूर्ण रूपमा स्थायी आवास पुनर्निर्माण गर्न सकेका छैनन् । अनुदानबापतको रकम नआएपछि आवास निर्माण गर्न नसकेको मेलम्ची नगरपालिका–११ का अस्मिता दनुवारले सुनाउनुभयो । स्थायी आवास पुनर्निर्माणका लागि सुरक्षित जग्गा नभएका लाभग्राहीलाई जग्गा खरिद गर्न लिखतको आधारमा थप तीन लाख रुपियाँ उपलब्ध गराउने कार्यविधिमा उल्लेख भए पनि त्यो रकम पनि नपाउँदा कतिपय प्रभावितले पुनर्निर्माण अघि बढाउन सकेका छैनन् । 

मनसुनजन्य विपत् लाभग्राहीमा समेटिएकामध्ये एक हजार ४९ जना लाभग्राहीले अनुदान सम्झौता गरी आवास पुनर्निर्माणको काम सुरु गरेका छन् । तीमध्ये पाँच सय जनाले ‘डिपिसी’ तह पूरा गरेका छन् । २३० जना लाभग्राहीले पुनर्निर्माण सकेका छन् तर भुक्तानी भने पाएका छैनन् । प्राधिकरणले पहिलो किस्ताबापत दिने अनुदान ५० हजार रुपियाँ एक हजार ४९ जनाले, दोस्रो किस्ता ४०६ जनाले र तेस्रो किस्ता १०६ जनाले पाएका छन् । मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङका अनुसार मनसुनजन्य प्रभावितको क्षतिलगायतका विवरण जिल्ला विपत् व्यवस्थापन समितिमा पठाए पनि त्यस कार्यालय र प्राधिकरणको ढिलाइले प्रभावितले अनुदान रकम नपाउँदा पुनर्निर्माणमा समस्या भोग्नु परेको छ ।