• १० मंसिर २०८१, सोमबार

मेलम्चीमा भ्रष्टाचार

blog

काठमाडौँ उपत्यकामा सीमित स्रोतबाट आपूर्ति गरिँदै आएको खानेपानीले दिनानुदिन बढ्दै गएको जनघनत्वलाई धान्न नसकेर चरम अभाव सिर्जना भइरहँदा मेलम्ची आयोजना आशाको त्यान्द्रो बनेर देखा परेथ्यो । २०४७ सालको राजनीतिक परिवर्तनपछिको अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले उपत्यकावासीलाई सिन्धुपाल्चोकस्थित मेलम्ची खोलाको पानी ल्याएर खुवाउने वाचा गर्नुहुँदा उहाँमाथि असम्भव कार्यलाई ‘चुनावी नारा’ बनाइएको आरोपसमेत लगाइयो । निर्माण धेरै ढिला सुरु भयो । सुरु भएपछि पनि उत्पन्न अनेक बाधा व्यवधान पार गर्दै दुई दशकपछि आयोजनाले साकार रूप लिन सकेको हो । निर्माण कार्यमा ढिलाइ हुनु, आयोजनाको म्याद पटक पटक थपिनु, ठेक्का प्रक्रिया तोड्नु तथा लागत वृद्धि हुँदै जानुमा सम्बन्धित निकायका तत्कालीन जिम्मेवार पदाधिकारीहरू नै दोषी देखिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विसं २०८० फागुन ६ गते विशेष अदालतमा दायर गरेको मुद्दामा अख्तियारको माग दाबी अनुसारको फैसला नआएको भए पनि पूर्वसचिवसहित चार जना र निर्माण एवं परामर्शदाता कम्पनीसमेत दोषी देखिएका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जना पूर्वसचिवसहित १४ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । आयोजनामा अनुचित तवरले भुक्तानी दिएको तथा भुक्तानी दिने प्रक्रियामा संलग्न रहेको आरोपमा विशेष अदालतले सोमबार पूर्वसचिव गजेन्द्र ठाकुरसहित चार जनालाई दोषी ठहर गरेको छ । यसै गरी निर्माण र परामर्शदाता चार कम्पनीसमेत दोषी ठहर भएका छन् भने अन्यले सफाइ पाएका छन् । यद्यपि कसुर ठहर भएकाहरूको हकमा पनि सजाय निर्धारण हुन बाँकी नै देखिएको छ । यसका लागि असोज ७ गतेको मिति तोकिएको  छ ।  विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले कसुर ठहर गरेकाले सजाय निर्धारण पनि सोही इजलासले गर्ने छ ।

अदालतले मेलम्ची खानेपानी विकास समितिका तत्कालीन अध्यक्ष गजेन्द्रकुमार ठाकुर र समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलले असुलउपर गर्नुपर्ने रकम असुलउपर नगरेको अभियोगमा दोषी ठहर गरेको हो । यस्तै खानेपानी विकास समितिको कार्यकारी निर्देशक तथा लेखा उत्तरदायी अधिकारीसमेत रहेका रामचन्द्र देवकोटालाई भुक्तानी प्रक्रियामा संलग्न देखिएकोमा अदालतले कसुरदार ठहर गरेको छ । परामर्शदाता कम्पनी इप्टिसा जेभीका टिम लिडर शिवकुमार शर्मालाई भेरिएसन स्वीकृत नहुँदै भुक्तानीका लागि सिफारिस गरेकोमा दोषी ठहर गरिएको हो । दोषी ठहर भएका सबैको र निर्माण कम्पनीको हकमा समेत बिगो कायम गरिसकिएकाले सोहीबमोजिम सजाय निर्धारण हुने देखिएको छ ।  

राष्ट्रिय गौरवका आयोजना निर्धारित समय र लागतमा सम्पन्न नहुनुको प्रमुख कारण मुलुकमा व्याप्त भ्रष्टाचार नै भएको आमबुझाइ बनिसकेको छ । खास गरी पछिल्लो समयमा मौलाएको भ्रष्टाचारको डरलाग्दो स्वरूपको एउटा उदाहरण मात्र हो मेलम्ची । एसियाली विकास बैङ्क (एडिबी) को लगानी रहेको आयोजनाको निर्माणमा सुरुमा चाइना कन्स्ट्रक्सन कम्पनी र उसले काम नगरेपछि इटालीको सिएमसी कम्पनी भित्रिएको थियो । उसले पनि बिचमै काम छोडेर भागेपछि बाँकी काम पूरा गर्ने गरी २०७६ मा चिनियाँ कम्पनी सिनो हाइड्रोले ठेक्का सकारेर आयोजना पूरा गरेको हो । सिन्धुपाल्चोकस्थित मेलम्ची खोलालाई अम्बाथानमा बाँध बाँधेर २७.५ किलोमिटर लामो सुरुङमार्फत २०७७ फागुन २२ गते सुन्दरीजलमा खसालिएको पानी चैत २० गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपमा धारा खोलेर उद्घाटन गर्नुभएको स्मरणीय छ । ३३ अर्ब रुपियाँभन्दा बढी लगानी भएको आयोजनालाई २०७८ सालमा आएको भीषण बाढीले ठुलो क्षति पु¥याएका कारण उत्पन्न अवरोध अद्यापि पूर्ण रूपमा हटाउन सकिएको छैन । 

हाल उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग रहेको अनुमान गरिएको छ । आपूर्ति भने बर्खामा बढीमा १२ करोड लिटर र हिउँदमा आठ करोड लिटर मात्र हुँदै आएको खानेपानी विभागको भनाइ छ । मेलम्ची आयोजनाबाट दैनिक १७ करोड लिटर पानी थप भएपछि राहत पाउने आस गरेका उपत्यकावासीले मेलम्चीको पानी नियमित पाउन सकिरहेका छैनन् । आयोजनाका ठेकेदारसँग मिलेर आयोजनाको दोहन गर्ने, निर्माण व्यवसायीलाई कामै नगरी भुक्तानी दिने, परामर्शदाता तथा निर्माण कम्पनीलाई बढी रकम भुक्तानी दिएर राज्यलाई नोक्सानी पु¥याउने जस्ता कार्यले मेलम्ची आयोजनालाई बदनाम बनाइएको पुष्टि भएको छ । मुहान संरचना नफेरी नियमित पानी आपूर्ति हुन नसक्ने ठहर भइसकेको आयोजनाको दोस्रो चरणमा याङ्ग्री र लार्के खोलाको पानीलाई समेत यसैमा मिसाएर ल्याउने गरी अध्ययन भइरहेको छ । आयोजनालाई दिगो र भ्रष्टाचारमुक्त बनाएर सम्पन्न गर्ने कार्यमा निरन्तर निगरानी आवश्यक देखिन्छ ।