• ११ पुस २०८१, बिहिबार

दस कलाकारको विचार सम्बन्ध

blog

शिवा तामाङ

काठमाडौँ, भदौ २६ गते । ललितपुर चाकुपाटस्थित क्लासिक ग्यालरीमा ‘कनेक्सन अफ थट्स’ शीर्षकमा सामूहिक कला प्रदर्शनी भइरहेको छ । प्रदर्शनीमा १० युवा कलाकारका सिर्जना राखिएका छन् । प्रदर्शनीमा राखिएका ५२ कलाकृतिले संस्कृति, सम्पदा, जनजीवन जस्ता विषयलाई प्रतिविम्बित गरेका छन् । सुजनवीर वज्राचार्यको शुभकार्य, सफलतालगायतका अवसरमा दिइने सगुन, याम्बाङ मगरको नोस्टाल्जिक, सुदनका ज्ञान, अध्यात्मको खोजी, शर्मिलादेवी तामाङको चराको गुँड; जसले बासस्थानको सिर्जना वा खोजलगायतका सन्देश दिन खोजेको पाइन्छ ।

कलाकार न्हुजा श्रेष्ठले र्‍याप गायक यम बुद्धलाई र्‍याप किङ भन्दै पोट्रेट चित्रमार्फत सम्झनुभएको छ । सामना राईले ‘गोठालो जाँदा’ शीर्षकमा गाउँ, कृषि, भूमि र जङ्गललाई क्यानभासमा सजाउनुभएको छ । कलाकार सरन तण्डुकारले ‘गड इन मी’, ओजस्वीले ‘कलर अफ बिस्का’ सहितका शीर्षकमा वाटर कलरमा संस्कृति, ऐतिहासिक प्रवेशद्वारको सौन्दर्यलाई दर्साउनुभएको छ । कलाकार सोनाम चाम्लिङ राईले ‘छिचिमिरा’ शीर्षकमा आफ्नो समुदायमा प्रचलित संस्कृतिलाई चित्रमा उतार्नुभएको छ । कलाकार हिसिला श्रेष्ठको ‘फ्लोट इन प्लेस’ ले सामूहिक चित्रकला प्रदर्शनीलाई विशेष बनाएको छ । 

ग्यालरीका संस्थापक/कलाकार सरिता डङ्गोलले भन्नुभयो, “कला क्षेत्रमा प्रवेश गरेका युवा कलाकारलाई क्लासिक ग्यालरीले वर्षको एक पटक चित्र प्रदर्शनीको अवसर दिँदै आएको छ । अनलाइनमार्फत गरिएको आह्वानमा ३५ युवा कलाकारले चासो देखाएकामा १० जना छनोटमा पर्नुभएको हो ।” 

“युवा कलाकार कला विषय पढेर वा तालिम लिएर चित्रकलाको सिर्जनामा लागिरहेका हुन्छन् । उहाँहरूको चित्र प्रदर्शनीका लागि पनि स्थान दिनु यस ग्यालरीको लक्ष्य रहेकाले १० वर्षदेखि युवा कलाकारको सिर्जना समेटेर सामूहिक चित्रकला प्रदर्शनी आयोजना हुँदै आएको छ,” उहाँले भन्नुभयो । प्रदर्शनी असोज ४ सम्म सञ्चालन हुने जनाइएको छ ।