• २६ पुस २०८१, शुक्रबार

नेपाल फुड फोरम २०२४

‘अर्थतन्त्रको मेरुदण्ड कृषि’

blog

काठमाडौँ, भदौ २६ गते ।  उपराष्ट्रपति रामसहायप्रसाद यादवले कृषिको अनुसन्धान र विकासमा लगानी बढाउन सरकारलाई सुझाव दिनुभएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय र संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठनले मङ्गलबार आयोजना गरेको नेपाल फुड फोरम २०२४ (नेपाल खाद्य मन्च) कार्यक्रमलाई उद्घाटन गर्दै सो सुझाव दिनुभएको हो । उहाँले कृषिमा युवालाई संलग्न गराएर अनुसन्धानमा लगानी बढाउन सुझाव दिनुभयो । 

उहाँले भन्नुभयो, “खाद्य जीवनका लागि आवश्यक मात्र नभएर यो मौलिक अधिकारको विषय पनि हो ।” संविधानमा नै मौलिक हकका रूपमा समावेश गरिएको खाद्य अधिकारलाई सुनिश्चित गर्न सरकार, निजी क्षेत्र, विकास साझेदारलगायत सबै निकायले समन्वयात्मक भूमिकामा रहेर काम गर्न उहाँले आग्रह गर्नुभयो । 

कृषि खाद्य प्रणालीलाई अगाडि बढाउन नेपाल फुड फोरमले भूमिका खेल्ने बताउँदै उहाँले खाद्य सुरक्षाको जोखिममा रहेका समुदायलाई पनि यस्ता फोरमहरूमा समावेश गराउनुपर्ने बताउनुभयो । अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको कृषि क्षेत्रको विकासका सब पक्षबाट सहयोग हुनुपर्ने कुरामा उहाँले जोड दिनुभयो । जलवायु परिवर्तनले गर्दा कृषि क्षेत्र प्रभावित भएको बताउँदै उहाँले अहिलेको सुहाउँदा खेती प्रणालीमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले वैदेशिक रोजगारीमा गएका युवालाई नेपालको कृषिमा आकर्षण गर्ने खालको कार्यक्रम ल्याउनुपर्ने पनि बताउनुभयो । 

कार्यक्रमको उद्घाटन सत्रको सभापतित्वसमेत ग्रहण गर्नुभएका कृषिमन्त्री रामनाथ अधिकारीले कृषि क्षेत्रको समग्र विकासका लागि उत्पादनमा जोड दिनुका साथै बजारीकरणमा पनि ध्यान दिनुपर्ने बताउनुभयो । कृषिमा नवीनतम विकासका लागि कृषि मन्त्रालयले पहल गरिरहेको बताउँदै उहाँले देशको अर्थतन्त्रको मेरुदण्ड कृषि भए पनि बजेट पर्याप्त नरहेको सोचेको जस्तो कार्य गर्न नसकेको बताउनुभयो । 

उहाँले कृषि मन्त्रालयले कृषिमा लगानी दशक घोषणा गर्ने तयारीमा रहेको बताउँदै यसको कार्ययोजना तयार भइसकेको र चाँडै नै कार्यान्वयमा आउने बताउनुभयो । लगानी दशक सुरु भएपछि यस क्षेत्रको पनि विकास हुनेमा आफू विश्वस्त रहेको बताउँदै उहाँले यसमा निजी क्षेत्र संलग्न हुनुपर्ने कुरामा जोड दिनुभयो । उहाँले भन्नुभयो, “यस दशकमा उल्लेखनीय पुँजीको विकास हुने अपेक्षा गरिएको छ ।” कृषि क्षेत्रका विकासका लागि कृषि मन्त्रालयले विभिन्न सरोकारवालासँग मिलेर काम गरिरहेको बताउनुभयो । कृषि सचिव डा. दीपक खरालले खाद्य गुणस्तर सुधारमा यस खालको कार्यक्रमले सहयोग पु¥याउनेमा आफू विश्वस्त रहेको बताउनुभयो । परम्परा खेती छाडेर आधुनिक खेती प्रणालीमा जानुपर्ने बताउँदै उहाँले नेपालमा निर्वाहमुखी खेती भइरहेको छ, त्यसको व्यवसायीकरणतिर लैजानुपर्ने बताउनुभयो । जलवायु प्रणालीका कारण खेती प्रणाली पनि परिवर्तन गर्नुपर्ने कुरामा जोड दिनुभयो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले समृद्ध नेपाल सुखी नेपालीका लागि कृषि उत्पादन आवश्यक रहेको बताउनुभयो । देशको मुख्य अर्थतन्त्रको आधार नै कृषि हो, त्यसले यसमा विशेष ध्यान दिनुपर्ने कुरामा उहाँले जोड दिनुभयो । 

नेपालमा यो नेपाल फुड फोरम पहिलो पटक भएको हो । वल्र्ड फुड फोरम २०२१ (विश्व खाद्य मन्च) देखि आयोजना हुँदै आएको छ । यस पटकको वल्र्ड फुड फोरम अक्टोबर १४ देखि रोममा हुने भएको छ । त्यसअघि नेपालमा एफएओ र कृषि मन्त्रालयले नेपाल फुड फोरमको आयोजना गरेको हो । कृषि खाद्य प्रणाली रूपान्तरणका लागि युवा, नवप्रवर्तन र लगानी सक्रिय गर्दै मूल नाराका साथ नेपाल फुड फोरम सम्पन्न भएको हो । अर्को प्राविधिक सत्रमा नेपाल युवा अभियान, विज्ञान र नवीनता, हात हातमा पहललगायतका विषयमा विभिन्न विज्ञहरूले आआफ्ना धारणा प्रस्तुत गर्नुभएको थियो ।