• १० मंसिर २०८१, सोमबार

स्वास्थ्यमन्त्री थापाद्वारा प्रादेशिक अस्पतालको अनुगमन

blog

बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा काठमाडौँस्थित टोखा चण्डेश्वरी अस्पतालको अनुगमनको क्रममा अस्पतालको अवस्थाको बारेमा जानकारी लिँदै ।

राममणि दाहाल

हेटौँडा, भदौ २५ गते । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले प्रदेश सरकार मातहतका अस्पतालहरुको अनुगमनको क्रममा काठमाडौँस्थित टोखा चण्डेश्वरी अस्पतालको अनुगमन गर्नुभएको छ । प्रादेशिक अस्पतालको अनुगमनको क्रममा अस्पतालको अवस्था र उपचार सेवाका बारेमा स्वास्थ्यमन्त्री थापाले अस्पताल प्रशासन, सेवाग्राहीसँग जानकारी लिनुभएको हो । 

मन्त्री थापाले प्रदेश मातहतका अस्पतालको सेवा सुधारमा प्रदेश सरकार लागेको भन्दै अस्पताल प्रशासनलाई अस्पतालमा रहेका उपकरण, औषधी लगायतका सामग्रीहरुको अधिकतम उपयोग गरेर सेवाग्राहीलाई सहज रुपमा सेवा दिन अस्पताल प्रशासनलाई निर्देशन दिनुभयो ।  

अनुगमनमा स्वास्थ्य मन्त्रालय महाशाखा प्रमुख डा.खगेश्वर गेलाल, अस्पतालका व्यवस्थापन समितिका पूर्व अध्यक्ष डा. दीपेन्द्र श्रेष्ठ लगायतको टोलीको सहभागिता रहेको थियो । सो अवसरमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीधर अर्यालले अस्पतालको सेवाको अवस्था र समस्याको बारेमा जानकारी गराउनुभएको थियो ।  

यसैगरी मन्त्री थापा स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले आयोजना गरेको हेमोफिलियाबाट प्रभावित व्यक्तिका लागि एन्टी हेमोफिलिक फ्याक्टर खरिद तथा बिक्री सम्बन्धी अन्तरक्रिया कार्यक्रम सहभागी हुँदै रगत जमाउन आवश्यक तत्वको कमीका कारण लामो समयसम्म रक्तस्राव भइरहने अवस्थाको न्यूनीकरण गर्न कार्यक्रम प्रभाभकारी हुने बताउनुभयो । 

यस्तै स्वास्थ्य निर्देशनालयले आयोजना भएको रक्त सञ्चारका लागि निःशुल्क ब्लड ब्याग कार्यक्रमको प्रदेशस्तरीय समीक्षा गोष्ठी मन्त्री थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।