• २ माघ २०८१, बुधबार

बिपी कोइरालाको सालिक निर्माण गरिने

blog

सालिक निर्माण कार्यको शिलान्यास गर्नुहुँदै जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङ ।

चन्द्र पन्दाक

ताप्लेजुङ, भदौ २४ गते । ताप्लेजुङमा प्रजातान्त्रिक समाजवादका प्रणेता एवम् महामानव विश्वेश्वरप्रसाद कोइरालाको सालिक निर्माण गरिने भएको छ । नेपाली कांग्रेस ताप्लेजुङको अगुवाइमा सदरमुकाम फुङ्लिङमा स्वर्गीय कोइरालाको सालिक निर्माण गरिने भएको हो ।

सालिक निर्माण गरिने भएसँगै कोइरालाको १११ औँ जन्मजयन्तीको अवसर पारेर सोमबार शिलान्यास कार्यक्रम सम्पन्न गरिएको छ । फुङ्लिङ नगरपालिका–३ हेलिप्याडस्थित गिरिजाप्रसाद कोइराला स्मृति भवन परिसरमा बिपीको सालिक निर्माण गर्न लागिएको हो । बिपी कोइरालाको सालिक निर्माण कार्यको नेपाली कांग्रेस ताप्लेजुङका सभापति गजेन्द्रप्रसाद तुम्याहाङले शिलान्यास गर्नुभएको छ ।

ताप्लेजुङमा हालसम्म कांग्रेस सम्बद्ध कुनैपनि आदर्श पुरुषको सालिक निर्माण नभएको अवस्थामा पहिलो पटक बिपी कोइरालाको सालिक निर्माण गर्न लागिएको जिल्ला सभापति तुम्याहाङले बताउनुभयो । महामानव बिपी कोइरालाले पुर्‍याउनुभएको योगदानको कदर गर्दै सालिक निर्माण गर्ने योजना बनाएको पनि उहाँको भनाइ छ ।

विक्रम संवत् १९७१ साल भदौ २४ गते जन्मिनुभएका कोइराला नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री हुनुहुन्छ । नेपालमा प्रजातन्त्र स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गर्नु भएकै कारण उहाँलाई ‘महामानव’ भन्ने गरिएको छ । कोइरालाको २०३९ साल साउन ६ गते निधन भएको थियो । शिलान्यास कार्यक्रममा कांग्रेस जिल्ला कार्यसमिति सभापति तुम्याहाङसहितका अन्य पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

यसैबिच कोइरालाको १११ औँ जन्मजयन्तीको अवसरमा नेपाल विद्यार्थी सङ्घ पाथीभरा बहुमुखी क्याम्पस इकाई समितिले वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ । ‘शिक्षामा बिपीको दृष्टिकोण’ विषयक खुला वक्तृत्वकला प्रतियोगितामा अनीश पौडेल प्रथम, स्वर्णिम पुर्कुटी द्वितीय र मिङ्वासो लिम्बू तृतीय हुनुभएको नेविसङ्घले जनाएको छ ।