• २ माघ २०८१, बुधबार

स्पोर्ट्स अवार्ड : चार विधाको मनोनयन सार्वजनिक

blog

खेलाडी र प्रशिक्षकको मनोनयन सार्वजनिक गरिँदै ।

काठमाडौँ, भदौ २४ गते । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०८० को वर्ष पुरुष, महिला, युवा खेलाडी तथा प्रशिक्षक गरी चार विधाको मनोनयन सार्वजनिक गरिएको छ । 

अवार्ड आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले सोमबार सार्वजनिक गरेको चार विधामा उत्कृष्ट ५/५ जना खेलाडी र प्रशिक्षक मनोनयनमा परेका छन् । मनोनयनमा पुरुषतर्फ क्रिकेटका दीपेन्द्रसिंह ऐरी, कप्तान रोहित पौडेल, करातेका मोहम्मद सेखु आलम, फुटबलका अनन्त तामाङ र गल्फका सुवास तामाङ पर्नुभएको छ ।

महिलातर्फ करातेकी एरिका गुरुङ, फुटबलकी सावित्रा भण्डारी, क्रिकेटकी रुबिना क्षेत्री, एथलेटिक्स सन्तोषी श्रेष्ठ र कबड्डी मेनुका राजवंशी मनोनयनमा हुनुहुन्छ । यस्तै युवा वर्ष खेलाडीको मनोनयनमा क्रिकेटका अर्जुन कुमाल, भारोत्तोलनका हेमन्त पाल, फुटबलर प्रीति राई, टेबलटेनिसका सुजन गडाल र टेनिसका सुनिरा थापा पर्नुभएको छ ।

वर्ष उत्कृष्ट प्रशिक्षकको मनोनयनमा पार तेक्वान्दोका कविराज नेगी लामा, करातेका कुशल श्रेष्ठ, क्रिकेटका मोन्टी देसाई, कबड्डीकी पार्वती राई र भारोत्तोलनका सञ्जय महर्जन पर्नुभएको छ । मञ्चका महासचिव प्रज्वल ओलीको संयोजकत्वमा गठित छनोट समितिले खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शन र नतिजालाई आधार मानि खेलाडी र प्रशिक्षक मनोनयन गरेको हो । 

अवार्ड भदौ २८ गते कमलदीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुँदैछ । मञ्चले यसअघि अवार्डको पिपल्स च्वाइस विधा मनोनयन सार्वजनिक गरिसकेको छ । पिपल्स च्वाइसमा फुटबलकी प्रीति राई, कबड्डीकी मानमति बिष्ट, भलिबलकी कविता भट्ट, रग्बीका श्रीराम श्रेष्ठ र क्रिकेटका गुलसन झा मनोनयनमा पर्नुभएको छ । 

अवार्डका अन्य विधा पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम अचिभमेन्ट अवार्ड, टिम अफ दी इयर र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डको घोषणा भदौ २८ गते कार्यक्रमकै दिन गरिने बताइएको छ । 

वर्ष पुरुष, महिला, युवा र प्रशिक्षक विधाको विजेताले पल्सर एनएस २०० मोटर बाइक पुरस्कार पाउनेछन् । पिपल्स च्वाइस विधाको विजेताले पल्सर एनएस ४०० मोटर बाइक जित्नेछन् । अन्य विधाका विजेतालाई जनही एक लाख रुपियाँ र गिफ्ट ह्याम्पर प्रदान गरिने मञ्चले जनाएको छ ।