• ११ मंसिर २०८१, मङ्गलबार

जनताको चाहना अनुसारको विकास गर्न सबै एकजुट हुनुपर्छ : राज्यमन्त्री तामाङ

blog

ऊर्जा, जलश्रोत तथा सिँचाइ राज्य मन्त्री पूर्णबहादुर तामाङ विश्वेश्वरप्रसाद कोइरालाको १११ औँ जन्म जयन्तीको अवसरमा नेपाली कांग्रेस रामेछापले आयोजना गरेको कार्यक्रममा सहभागी हुनुहुँदै । तस्बिर : नवराज श्रेष्ठ

नवराज श्रेष्ठ

रामेछाप, भदौ २४ गते । ऊर्जा, जलश्रोत तथा सिँचाइ राज्य मन्त्री पूर्णबहादुर तामाङले सबै राजनीतिक पार्टीहरू  मिलेर जनताको चाहना अनुसारको विकास गर्नुपर्ने बताउनुभएको छ । नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको १११ औँ जन्म जयन्तीको अवसरमा नेपाली कांग्रेस रामेछापले आयोजना गरेको विभिन्न अस्पतालका बिरामीहरूलाई फलफूल वितरण कार्यक्रममा बोल्नुहुँदै राज्यमन्त्री तामाङले यस्तो बताउनुभएको हो ।

उहाँले राजनीति अस्थिरताका कारण विगतका सरकारहरूले जनताको चाहना अनुसार विकास निर्माण काम गर्न नसकेको बताउनुभयो । यो कुरालाई ध्यानमा राखेर अहिलेको सरकारले सबै समस्याहरूको समाधान गरी देश विकासको काम गर्ने उहाँको दाबी छ ।

उहाँले भन्नुभयो, “विगत लामो समय देशमा राजनीतिक अस्थिरता रह्यो । जनताले सोचे जस्तो देशमा विकासका काम हुन सकेन । यसले गर्दा जनतामा निराशा छायो । अब सबै राजनीतिक पार्टीहरू एकजुट भएर देश विकासमा लाग्नुपर्छ । देशमा राजनीतिक स्थिरता दिनुपर्छ ।”

मुलुकमा राजनीतिक स्थिरता, सुशासन र आर्थिक विकास गरी देश विकासका लागि अहिलेको सरकार बनेकाले सोही अनुसार काम हुने उहाँले बताउनुभयो । उहाँले नेपाली कांग्रेस भित्र आन्तरिक विवाद रहेकाले यसको समाधानका लागि पनि पार्टीका सबै नेता कार्यकर्ताहरू लाग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “कांग्रेसभित्र आन्तरिक विवादहरू छन् । जसका कारण पार्टीमा केही समस्याहरू पनि हुने गरेका छन् । अब पार्टीभित्र आन्तरिक समस्याहरूको समाधानमा सबै गम्भीर भएर लाग्नुपर्छ ।”

बिपी जन्म जयन्तीका अवसरमा नेपाली कांग्रेस रामेछाप तय गरेको कार्यक्रम अनुसार राज्यमन्त्री तामाङले सदरमुकाम मन्थलीस्थित विश्वेश्वरप्रसाद कोइरालाको सालिकमा माल्यार्पण गर्नुभएको थियो । त्यसपछि मन्थलीस्थित तामाकोशी अस्पताल, मन्थली प्रादेशिक अस्पताल, रामेछाप सामुदायिक अस्पताल, दिल श्री मेडिकल हल र रामेछाप प्रादेशिक अस्पतालका बिरामीहरूको स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण कार्यक्रममा सहभागी हुनुभएको थियो ।