• २ माघ २०८१, बुधबार

'सार्वजनिक बिदामा पनि ओपिडी सेवा सञ्चालन गरिने'

blog

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल । फाइल तस्बिर ।

वसन्त पराजुली 

नारायणगढ, भदौ २४ गते । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले चिकित्सकहरूकै सहमतिमा सार्वजनिक बिदाका दिन सरकारी अस्पतालहरूको ओपिडी सेवा सञ्चालन गरिने बताउनुभएको छ । स्वास्थ्य मन्त्रालयले सरकारी अस्पताललाई सार्वजनिक बिदाका दिन पनि ओपिडी सेवा सञ्चालन गर्न निर्देशन दिए लगत्तै नेपाल चिकित्सक सङ्घले यसको विरोध गरेपछि स्वास्थ्य मन्त्रीले यस्तो धारणा राख्नुभएको हो । 

भरतपुर विमानस्थलमा पत्रकारहरूसँग सोमबार कुरा गर्दै मन्त्री पौडेलले चिकित्सकहरूको थप समयका लागि थप सुविधा के गर्न सकिन्छ भनेर पनि छलफल भइरहेको जानकारी दिनुभयो । “चिकित्सक तथा स्वास्थ्य कर्मीहरूको जनशक्ति कम भएकोले उहाँहरूको समय बढी लिन पाइयो भने स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सकिन्छ की भनेर प्रयास गरेको हो”, उहाँले थप्नुभयो, “सार्वजनिक बिदाका दिनमा पनि काम गर्नुपर्दा चिकित्सकहरूले मासिक कति तलब पाउनु हुन्छ त्यसमा दिनको हिसाब गरेर थप सुविधा उपलब्ध गराउन सकिन्छ की भनेर हामीले प्रयत्न गरिरहेका छौँ ।”

उहाँले चिकित्सकहरूकै सहमतिमा सार्वजनिक बिदाका दिनमा पनि सेवा सुरु हुने बताउनुभयो । चिकित्सकहरूको विरोध छ नि भनी सोधिएको प्रश्नमा मन्त्रीको जवाफ छ, “विरोध हैन अस्पष्टता छ । यसमा स्पष्ट भएर अगाडी बढौँ भन्ने मात्रै हो”, उहाँले भन्नुभयो । 

मन्त्रीको स्वागतमा भरतपुर विमान स्थलमै भेटिनुभएका नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. अनिल विक्रम कार्कीले भने चिकित्सकहरूको पनि निजी जीवन हुने भएकाले सार्वजनिक बिदाका दिनमा आफूहरू काम गर्न नसक्ने बताउनुभयो । 

“जनशक्ति थप गर्ने तर्फ सरकार लाग्दैन । भएका जनशक्तिलाई पनि विस्थापित गर्ने योजनामा सरकार लागेको देखिन्छ”, उहाँले भन्नुभयो । 

जनशक्ति थप गर्ने सवाल भने तत्काल सम्भव नभएको मन्त्री पौडेलको भनाई छ । भएका जनशक्तिबाट नै बढीभन्दा बढी स्वास्थ्य सेवा लिनुपर्ने अहिलेको आवश्यकता भएको पनि उहाँले जनाउनुभयो ।