• १० मंसिर २०८१, सोमबार

खोलाले बगाउँदा दुईको मृत्यु

blog

दुर्घटनास्थल । तस्बिर : राजु लामिछाने

राजु लामिछाने

रुकुमपश्चिम, भदौ २४ गते । रुकुमपश्चिममा खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका ६ र ७ को सिमानामा रहेको रम्माखोलाले बगाउँदा मोटरसाइकलमा सवार एक पुरुष र एक महिलाको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक बखत बहादुर शाहीका अनुसार मुसीकोट नगरपालिका ४ निवासी ५० वर्षीया सर्जन पुन र वडा नम्वर ६ निवासी अन्दाजी ३२ वर्षीया निर्मला केसी थापाको मृत्यु भएको हो ।  

रा ६ प २९६१ नम्बरको मोटरसाइकलमा साँखबाट कानेबाङतर्फ जाँदै गर्दा आइतबार बेलुका करिब साढे आठ बजे खोलाले बगाएको र सोमबार बिहान मात्र थाहा भएको प्रहरीले जनाएको छ । 

घटनास्थलमै रहनुभएका प्रहरी निरीक्षक शाहीले खोलाले मोटरसाइकलसहित बगाउँदा दुवै जनाको मृत्यु भएको बताउनुभयो । खोलाभन्दा करिब तीन सय मिटर तल महिला र  करिब २० मिटर तल पुरुषको शव फेला परेको प्रहरी निरीक्षक शाहीले जानकारी दिनुभयो । पुरुषको शव मोटरसाइकलले च्यापिएको महिलाको शवको केही भाग पुरिएको अवस्थामा फेला परेको थियो । 

अहिले प्रहरीले शव निकालेर घटनास्थल प्रकृति मुचुल्का तयार गरिरहेको छ । आवश्यक कागजी प्रक्रियापश्चात् पोष्टमार्टमका लागि दुवै शव जिल्ला अस्पताल सल्ले ल्याउने बताइएको छ ।