• ११ असोज २०८१, शुक्रबार

सामाजिक विषयमा यसरी अब्बल बन्ने

blog

प्यारा विद्यार्थी भाइबहिनीहरू ! तपाईंहरूको पढाइलेखाइ कस्तो चल्दै छ नि ? पक्कै पनि राम्रै होला, होइन त ? आज हामीले ‘सामाजिक अध्ययन’ विषयमा कसरी राम्रो गर्न सकिन्छ भनेर चर्चा गर्ने छौँ । सामाजिक अध्ययन विषय विद्यालय तहमा पठनपाठन हुने एउटा अनिवार्य विषय हो । यस विषयको नाम कक्षा ४ देखि ८ सम्म ‘सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा’, कक्षा ९ र १० मा ‘सामाजिक अध्ययन’ र कक्षा ११ र १२ मा ‘सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा’ हो । यो विषय समाजसँग सम्बन्धित विषय हो । यो नेपाली भाषामा पढ्नुपर्ने व्यवस्था छ ।

समाजमा हुने गरेका गतिविधिलाई हामीले राम्रोसँग बुझ्न सक्यौँ भने सामाजिक अध्ययन विषयमा राम्रो गर्न सकिन्छ । सामाजिक कार्यव्रmममा सहभागी हुनाले समाजमा हुने गतिविधि बुझ्न सजिलो हुन्छ । यसबाट सामाजिक मूल्यमान्यता र व्यवहारप्रति चासो पनि बढ्दै जान्छ । समाजमा के कस्ता चालचलन छन्, एक अर्काबिच कस्तो व्यवहार हुने गरेको छ, समस्या पर्दा कसरी सहयोग आदानप्रदान गर्ने गरिएको छ, झगडा वा विवाद हुँदा कसरी समाधान गर्ने गरिएको छ, वरिपरिको वातावरण सफा राख्न के कस्ता गतिविधि हुने गरेका छन्, के कस्ता विकास निर्माण भइरहेका छन्, महत्वपूर्ण विषयमा कसरी निर्णय गर्ने गरिएको छ, असल समाज निर्माणका लागि के कस्ता प्रयास हुने गरेका छन्, जस्ता कुरालाई नियालेर बुझ्ने कोसिस गर्नु पर्छ ।

हामी सांस्कृतिक समारोहमा पनि सहभागी हुनु पर्छ । विभिन्न चाडपर्व, विवाह, सांस्कृतिक महोत्सव जस्ता समारोहमा सहभागी हुनाले संस्कार र संस्कृतिका विषयमा स्पष्ट हुन सकिन्छ । यस्ता समारोहमा भेला भएका मानिसको गतिविधि अवलोकन गरेर र उनीहरूसँग अन्तर्क्रिया गरेर पनि धेरै कुरा सिक्न सकिन्छ । आफ्नो संस्कार र संस्कृतिप्रति गर्व गर्दै त्यस्ता गतिविधि सिक्ने, अभ्यास गर्ने र तिनको संरक्षण पनि गर्नु पर्छ । संस्कार र संस्कृतिको संरक्षण गर्ने जिम्मेवारी हाम्रै हो ।

आफ्ना मनमा उठेका जिज्ञासा आफूभन्दा ठुला मानिससँग सोध्ने बानी गर्नु पर्छ । अभिभावक, छरछिमेकी, नातेदार, साथीसङ्गी, शिक्षकसँग आफूलाई जान्न इच्छा लागेको विषयमा सोध्न अप्ठ्यारो मान्नु हुँदैन । समाजको विषयमा उहाँहरूबाट धेरै कुरा सिक्न सकिन्छ । 

सामाजिक अध्ययन विषयका विषयवस्तु हाम्रै समाजका विषय हुन् । समाज, समाजमा हुने गरेका विकासका गतिविधि, मुलुकभित्रको र विश्व राजनीति, सामाजिक मूल्यमान्यता, सामाजिक समस्या र विकृति, कानुन र संविधान, संसदीय अभ्यास, भूगोल र जनजीवन, इतिहास, आर्थिक गतिविधि र विकासका सम्भावना, अन्तर्राष्ट्रिय सम्बन्ध, शान्ति र सहयोग, जनसाङ्ख्यिक अवस्था सामाजिक अध्ययन विषयका विषयवस्तु हुन् । यी विषयवस्तुलाई आफ्नो समाजसँग जोडेर अध्ययन गर्ने हो भने बुझ्न सजिलो हुन्छ । 

हामी अध्ययनशील, जिज्ञासु र मेहनती पनि हुनु पर्छ । पाठ्यपुस्तकबाहेकका सन्दर्भ पुस्तक पनि पढ्ने गर्नु पर्छ । नजानेका, नबुझेका कुरा शिक्षकसँग सोध्न अप्ठेरो मान्नु हुँदैन । पढ्दाखेरि कठिन शब्द भेटिए शब्दकोशमा तिनको अर्थ खोजिहाल्नु पर्छ वा जान्नेसँग सोधिहाल्नु पर्छ । पढ्दाखेरि महत्वपूर्ण शब्द, शब्दावली वा वाक्यलाई रेखाङ्कन गर्नु पर्छ । रेखाङ्कन गरिएका कुरालाई टिपोट गर्ने र तिनलाई दोहो¥याएर पढ्नाले सजिलै सम्झिन सकिन्छ । 

अचेल गुगलमा सिकाइसम्बन्धी प्रशस्त सामग्री पाइन्छन् । ती सामग्रीको सदुपयोग गरेर पनि हाम्रो सिकाइमा निखार ल्याउन सकिन्छ । यसरी सामग्री खोज्दा भरपर्दो र विश्वसनीय स्रोतबाट मात्र लिनु पर्छ । सरकारी कार्यालय, शैक्षिक संस्था र सामाजिक सङ्घ संस्थाका वेबसाइटमा पाइने सामग्री बढी विश्वसनीय हुन्छन् । 

शिक्षकहरूले दिनुभएको गृहकार्य इमानदारीपूर्वक पूरा गर्नु पर्छ । गृहकार्य गर्दा आफैँले गर्नु पर्छ, अरूको सार्नु हुँदैन । आएन भने शिक्षकलाई दोहो¥याएर सोध्नु पर्छ । गृहकार्य आफैँले गर्ने गरेमा पढाइलेखाइमा राम्रो सुधार हुन्छ । पत्रपत्रिका पढ्ने, समाचार सुन्ने/हेर्ने, विभिन्न ठाउँको अवलोकन भ्रमण गर्ने, आफ्नो रुचिको विषयका पुस्तक खोजी खोजी पढ्ने, पढेका कुरा कापीमा टिपोट गर्ने, टिपोट गरेका कुरा सम्झिने र लेख्ने प्रयास गर्ने बानीको विकास गरियो भने सामाजिक अध्ययन विषयमा राम्रो गर्न सकिन्छ । 

विषयवस्तुमा निपुण भएपछि परीक्षाको तयारी गर्नु पर्छ । आन्तरिक मूल्याङ्कनका लागि दिइएको परियोजना कार्य समयमा नै सकेर बुझाउनु पर्छ । कक्षाको सिकाइ क्रियाकलापमा अनुशासित भएर सक्रियतापूर्वक सहभागी हुनु पर्छ । असल सिकाइका लागि अनुशासन महत्वपूर्ण पक्ष हो भन्ने कुरा बिर्सनु हुँदैन । 

िवद्यालयको समयबाहेक बिहान बेलुका पनि पढ्ने समयतालिका बनाउनु पर्छ । आफ्ना अक्षरलाई सफा, आकर्षक र बुझिने बनाउनु पर्छ । प्रश्नको उत्तर दिँदा सकेसम्म क्रमैसँग दिने र नसके सजिलो प्रश्न हुँदै अघि बढ्ने गर्नु पर्छ । उत्तर लेख्नुभन्दा पहिला प्रश्नले सोधेको के हो, प्रस्ट हुनु पर्छ । उत्तर लेख्दा सकेसम्म अङ्कभार अनुसार छोटा छोटा बुँदामा लेख्ने र तिनीहरूको विस्तृतीकरण गर्ने गर्नु पर्छ । बुँदा लेखी विस्तृतीकरण गर्न नमिलेमा उत्तरलाई छोटा र स्पष्ट वाक्यका अनुच्छेदमा पनि प्रस्तुत गर्न सकिन्छ । यसरी अनुच्छेदमा लेखिएका उत्तरमा त्यहाँ रहेका महìवपूर्ण वाक्य वा वाक्यांशलाई सिसाकलमले रेखाङ्कन गर्दा राम्रो हुन्छ । यसो गर्दा उत्तर लेखाइ आकर्षक बन्छ ।

मोबाइल, कम्प्युटर जस्ता उपकरणको प्रयोग गर्नुहुन्छ भने त्यसमा आफूलाई पढाइलेखाइमा सहयोग पुग्ने सामग्री डाउनलोड गरेर राख्न पनि सकिन्छ । त्यस्ता डाउनलोड गरेका सामग्री आवश्यक परेको बेलामा हेर्न, सुन्न वा पढ्न सकिन्छ । सामाजिक अध्ययन विषय उपयोगी र सजिलो विषय हो भन्ने सकारात्मक सोच लिएर अध्ययन गरियो भने पक्कै पनि यसमा राम्रो गर्न सकिन्छ ।  

 भदौ मुना २०८१

Author

मातृकाप्रसाद लम्साल