• २ माघ २०८१, बुधबार

हराएका महिला तथा बालिका अझै फेला परेनन्

blog

छिन्चु समाचारदाता

सुर्खेत, भदौ २४ गते । तीन आर्थिक वर्षमा कर्णाली प्रदेशबाट हराएका ८९ जना महिला तथा बालिका अझै फेला पर्न सकेका छैनन् । आव २०७८/७९ देखि २०८०/८१ सम्म कर्णाली प्रदेशबाट हराएका कुल तीन हजार २१९ व्यक्तिमध्ये ८९ जना महिला र बालिका फेला पर्न नसकेको प्रहरीको तथ्याङ्कले देखाएको छ, जसमा ७३ जना महिला र १६ जना बालिका छन् । 

त्यसै गरी हराएकामध्ये ५३ जना पुरुष फेला पर्न बाँकीको सूचीमा रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । जसमा १८ बालक, ३३ जना वयस्क र दुई जना ज्येष्ठ नागरिक पुरुष रहेका छन् । तथ्याङ्क अनुसार आव २०७८/७९ मा मात्रै यस प्रदेशका एक हजार १०२ जना हराएका थिए । त्यसै गरी आव २०७९/८० मा ९६९ र आव २०८०/८१ मा एक हजार १४८ जना हराएका थिए । जसमा तीन आवमा महिला मात्रै करिब एक हजार ४५५ जना हराएका थिए । यस्तै बालिका ८३३, बालक ५०४ र पुरुष ४३६  रहेका छन् ।

हराउनेमा सबैभन्दा धेरै सुर्खेतबाट एक हजार १५२ जना रहेका थिए । यस्तै दैलेखबाट ४७७, जाजरकोटबाट २४०, सल्यानबाट ३४८, रुकुमपश्चिमबाट २३९, हुम्लाबाट ५५, जुम्लाबाट ३३५, मुगुबाट ११४, कालीकोटबाट २१७ र डोल्पाबाट ४२ जना हराएको प्रहरीले जनाएको छ । 

यसै गरी विगत चार आवमा मात्रै कर्णालीमा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी १९ वटा मुद्दा दर्ता भएका छन् तर तथ्याङ्कमा नआए पनि यो सङ्ख्याभन्दा धेरै घटना समाजभित्र लुकेका हुन सक्ने प्रहरीको अनुमान छ । मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी १९ वटा मुद्दामध्ये सबैमा महिलापीडित छन् । मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी १९ वटा मुद्दामा सबैभन्दा धेरै सुर्खेतमा आठ वटा मुद्दा दर्ता भएका छन् । त्यस्तै गरी रुकुमपश्चिम, डोल्पा, मुगु र कालीकोट जिल्लामा विगत चार आवमा मानव बेचबिखनसम्बन्धी मुद्दा दर्ता भएका छैनन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार सुर्खेतमा आव २०७७/७८ मा एक, आव २०७८/७९ मा दुई, आव २०७९/८० मा दुई र आव २०८०/८१ म तीन वटा मुद्दा रहेका छन् । त्यसै गरी दैलेखमा आव २०७८/७९ मा दुई र आव २०७९/८० मा दुई वटा गरी चार वटा मुद्दा दर्ता भएका छन् । त्यस्तै जाजरकोटमा एक, सल्यानमा दुई, जुम्लामा दुई र हुम्लामा दुई वटा मुद्दा दर्ता भएका छन् ।

कमजोर आर्थिक अवस्था भएका महिला र बालिका यौनशोषण तथा बेचबिखनमा पर्ने गरेको प्रहरीमा पर्ने मुद्दाले पुष्टि गर्दछ । कर्णालीमा यसरी बेचबिखनमा पर्ने महिला र बालिका भारतसहित श्रीलङ्का, लिबिया, कुवेत, चीन, इराक, इन्डोनेसिया, म्यान्मारलगायत देशमा पुग्ने गरेका गरेका छन् । कर्णालीमा बढ्दो प्रविधिको प्रयोग, इन्टरनेट आदि सुविधाका कारण विद्युतीय अपराधसँगै बेचबिखनको जोखिम बढ्दै गएको प्रहरीको तथ्याङ्कले देखाएको छ ।