• २ माघ २०८१, बुधबार

नियन्त्रण भएन काठ तस्करी

blog

समिलबाट काठ बरामद गर्दै सशस्त्र वनरक्षक तथा वनकर्मीको टोली । तस्बिर : रवीन्द्र उप्रेती

बर्दीबास समाचारदाता

बर्दीबास, भदौ २४ गते । वनकर्मीले जङ्गली क्षेत्रसंँग जोडिएका विभिन्न स्थानमा छापा मारी तस्करसहित ७८ क्युफिट बराबरको काठ तथा दुई थान मोटरसाइकल नियन्त्रणमा लिएका छन् । परियोजनाको जङ्गलबाट पनि साखुका ५८ क्युफिट काठसहित तस्कर पक्राउ परेका छन् । 

वनकर्मीको टोलीले गौशाला नगरपालिका–८, बेलगाछीस्थित अमृत समिल तथा फर्निचर उद्योगमा छापा मारी ६५.५० क्युविक फिट बराबरको नौ थान सिसौका गोलिया तथा २.८१ क्युफिटका २० थान साखुका चिरान काठ बरामद गरेको हो । जङ्गली क्षेत्र आसपासका समिल तथा फर्निचर उद्योगले अवाञ्छित रूपमा काठ ढुवानी गरेको सूचनाका आधारमा माईस्थानस्थित सबडिभिजन वन कार्यालयका प्रमुख कृष्णकान्त पटेल तथा सशस्त्र वन सुरक्षा शाखा कमान्डर अवतार लामा नेतृत्वको संयुक्त गस्तीले उक्त फर्निचर उद्योगलाई अघिल्लो रातदेखि नै निगरानीमा राखी कारबाही अगाडि बढाएको थियो । 

छापामारका क्रममा झडप हुने सम्भावनाका कारण रामनगरस्थित सशस्त्र प्रहरी बेस क्याम्पबाट थप बलसहित खोजी गर्दा समिल परिसरबाट काठ बरामद भएका थिए । फरार रहेका समिल सञ्चालक सञ्जितकुमार शर्माविरुद्ध वन मुद्दा दर्ता गरी कारबाही अगाडि बढाएको पटेलले जनाउनुभयो । 

समिलमाथि निगरानी बढाइरहेका बेला रातको समयमा अर्को सूचना प्राप्त भयो । सूचनाका आधारमा गौशाला–१० स्थित बटौवामा पुगेर सर्च गर्दा राति करिब १ बजेतिर जङ्गली बाटोतर्फ जाने सडक किनारामा स्याउलाले छोपिराखेको अवस्थामा वनकर्मीले सात क्युफिट बराबरका दुई थान साखुका गिँड बरामद गरेका थिए । 

यसको अघिल्लो राति पनि २.४ क्युफिट बराबरको एक थान टिकको काठ र दुई थान मोटरसाइकलसहित गौशाला–१०, बटौवाका ३० वर्षीय काठ तस्कर अयज यादवलाई पक्राउ गरिएको सबडिभिजन प्रमुख पटेलले जनाउनुभयो । सशस्त्र वनरक्षकसहितको रात्रिकालीन गस्तीले फायरलाइनस्थित सागरनाथ वन विकास परियोजनाको जङ्गलबाट राति करिब १ बजेतिर एक थान टिक प्रजातिको काठलाई दुई वटा मोटरसाइकलमा राखेर बस्तीतर्फ लैजाँदै गरेको अवस्थामा घेराबन्दी गरी यादवलाई नियन्त्रणमा लिएको हो । 

त्यस क्रममा पक्राउ परेका यादवका एक जना मतियार भाग्न सफल भए पनि उनीहरूले प्रयोग गरेका दुई थान मोटरसाइकललाई नियन्त्रणमा लिई कारबाही अगाडि बढाइएको सबडिभिजन वन कार्यालय माईस्थानले जनाएको छ । 

बरामद भएकामध्ये केही काठ टुटेश्वर र केही लक्ष्मीनियाँस्थित खयरमारा सबडिभिजनको जिम्मामा राखिएको छ । पक्राउ परेका यादवलाई माईस्थान सबडिभिजन कार्यालयको हिरासतमा राखी अनुसन्धान भइरहेको पटेलले जनाउनुभयो ।

यसअघि सागरनाथ वन विकासकै लक्ष्मीनियाँको स्टिल टावर उत्तरको ७ नं. ब्लक र कुसुमाडीको जङ्गलमा पर्ने प्लट नं. ३ नजिकको ग्रिन बेल्टमा रातको समय काठ तस्कर र वनकर्मीबिच घम्साघम्सी पर्दा ५८ क्युफिट साखुको काठसहित तीन जना तस्कर, चार थान साइकल र एउटा बोलेरो पिकअप नियन्त्रणमा लिएको परियोजनाको हात्तीलेट वन व्यवस्थापन शाखा प्रमुख विद्यासागर कर्णले बताउनुभयो ।