• २३ भदौ २०८१, आइतबार

नहरमा नुहाउन गएका बालकको डुबेर मृत्यु

blog

जनार्जन खत्री 

सर्लाही, भदौ २३ गते । सर्लाहीको हरिवन नगरपालिका-५, किरिङ टोलमा आइतबार अपराह्न नहरमा डुबेर एक बालकको मृत्यु भएको छ । अत्यधिक गर्मी भएपछि साथीसँगै घर नजिकै बागमती सिँचाइ आयोजनाको नहरमा नुहाउन गएका स्थानीय जनिफ मन्सुरका छोरा १५ वर्षीय सहमद मन्सुरको डुबेर मृत्यु भएको हो । 

बालक नहरमा पौडी खेल्नेक्रममा नहरभित्र रहेको ह्युम पाइपमा अड्किएका प्रत्यक्षदर्शीले बताएका छन् । 

बालकलाई ह्युम पाइपबाट मृत अवस्थामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय भएर बाहिर निकालेका छन् । घटनास्थलको प्रकृति मुचुल्का गरी मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिनुभयो । 

बालकलाई गोठालो गएका स्थानीय मानिसहरूले नहरमा डुब्नासाथ देखेपनि ह्युम पाइपमा अड्किएकाले तत्काल बाहिर निकाल्न नसक्दा बालकको मृत्यु भएको हो । बालकसँगै नुहाउन गएका अन्य बालक भने सकुशल बाहिर निस्कन सफल भएका छन् ।