• २३ भदौ २०८१, आइतबार

कोशी प्रदेशलाई आयुर्वेद चिकित्सा अध्ययन अनुसन्धानसहितको मुख्य केन्द्र बनाइने

blog

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्की ।

विष्णुप्रसाद पोखरेल

दमक, भदौ २३ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशलाई आयुर्वेद चिकित्सा अध्ययन अनुसन्धानसहितको मुख्य केन्द्र बनाउनका लागि आवश्यक नीति नियम बनाउने र आवश्यक योजना ल्याउने बताउनुभएको छ । प्रादेशिक आयुर्वेद अस्पताल लखनपुरको अन्तरङ्ग, ईसिजि, एक्स-रे लगायतका सेवा विस्तारको आइतबार उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

"हामी आयुर्वेद अस्पतालको सेवा विस्तारसँगै आयुर्वेद क्षेत्रको समग्र विकासका लागि आवश्यक नीति नियम र कार्यक्रम बनाउन कार्यदल बनाएर काम अघि बढाइसकेका छौँ", कार्कीले भन्नुभयो । कार्यदलले दिएको सुझावको आधारमा आयुर्वेद क्षेत्रको विकासका लागि प्रदेश सरकारले निर्णय लिने पनि उहाँले जनाउनुभयो ।

प्रादेशिक आयुर्वेद अस्पतालले कम जनशक्ति भए पनि गुणस्तरीय सेवा प्रदान गरिरहेको पाएको बताउँदै यस अस्पतालको स्तरोन्नति र विकासका लागि प्रतिष्ठानको रूपमा लैजान काम थालिसकेको जानकारी दिनुभयो । "यो अस्पताल आफैँ सक्षम बन्ने किसिमको योजना अनुसार अघि बढ्नुपर्छ", उहाँको सुझाव थियो ।

अस्पताललाई प्रतिष्ठानको रूपमा विकास गर्नका लागि विज्ञहरूको कार्यदलले काम गरिरहेको भन्दै औषधी उत्पादन, प्रशोधन र उपयोगका लागि समेत योजना बनाएर अघि बढ्दा प्रदेश सरकार सधैँ साथमा रहेको मुख्यमन्त्री कार्कीले बताउनुभयो । "आयुर्वेदको मुख्य हबको रूपमा यस अस्पतालको विकास गर्छौँ", कार्कीले भन्नुभयो ।

कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माले जनशक्ति अभावलाई पूर्ति गर्नका लागि आवश्यक कदम चालिने बताउनुभयो । अस्पतालमा जनशक्ति अभावमा सेवा विस्तारमा कठिनाइ भएको विषयमा जानकार भएको बताउँदै चाँडै जनशक्ति व्यवस्थापनका लागि आवश्यक प्रक्रिया अघि बढाइने उहाँको भनाइ थियो ।

अस्पतालका निमित्त निर्देशक डा.सिद्धार्थ ठाकुरले कोशी प्रदेशभरका बिरामीहरूलाई वशिष्ठकृत सेवा दिने लक्ष्य अनुसार आफूहरूले सेवा विस्तार गरेको जनाउनुभयो । बिरामी भर्ना सुरु भएपछि अब टाढाटाढाबाट आएका बिरामीहरू बासबस्न ठाउँ खोज्नु पर्ने अवस्थाको अन्य हुने उहाँको भनाइ थियो ।