• २३ भदौ २०८१, आइतबार

झाडापखालाका बिरामी बढेपछि छुट्टै उपचार कक्ष

blog

नरैनापुर स्वास्थ्य केन्द्रको छुट्टै वार्डमा बिरामीको उपचार गरिंदै । तस्बिर : सिराज खान ।

सिराज खान 

नेपालगन्ज, भदौ २३ गते । बाँकेको दुर्गम मानिने नरैनापुर गाउँपालिकामा झाडापखालाका बिरामीको सङ्ख्या बढ्न थालेपछि नरैनापुर गाउँपालिकाका दुई वटा स्वास्थ्य संस्थामा झाडापखालाका बिरामीका लागि छुट्टै वार्ड (उपचार कक्ष) स्थापना गरिएको छ ।  

वर्षाको मौसममा पखालाका बिरामी बढ्न थालेको र केही बिरामीको मृत्यु समेत भएकोले थप जनशक्ति र औषधीको व्यवस्था गरेर पालिकाका दुई वटा स्वास्थ्य संस्थाहरु वडा नम्बर २ लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्र र नरैनापुर–६ गङ्गापुर स्वास्थ्य चौकीमा छुट्टै वार्ड (उपचार कक्ष) स्थापना गरिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र कुमार शाहले जानकारी दिनुभयो ।

उहाँले ती दुबै स्वास्थ्य संस्थामा आपतकालीन स्वास्थ्य सेवा समेत सुरु गरिएको जनाउँदै झाडा पखाला र मौसमी फ्लुका बारेमा स्थानीयमा सचेतना वृद्धि गर्ने कार्य पनि सुरू गरिएको बताउनुभयो । 

नरैनापुरमा स्थापना गरिएका छुट्टै वार्ड (उपचार कक्ष) मा १० देखि १५ जना बिरामीलाई भर्ना गरेर उपचार गर्न सकिने स्वास्थ्य शाखा प्रमुख शाहले बताउनुभयो ।

उहाँले झाडापखालाका बिरामीको उपचारका लागि आठ जना स्वास्थ्यकर्मी राखिएको जनाउँदै शनिबार मात्रै सो उपचार कक्षमा पाँच जना बिरामीलाई भर्ना गरेर उपचार सुरु गरिएको जानकारी दिनुभयो ।  

यसअघि गत साता मात्रै नरैनापुर ३ गेग्ली गाउँमा एकै परिवारका तीनसहित चार जनाको बान्ता, पखाला र कडा खाले ज्वरो आई शरीरमा पानीको कमीले गर्दा मृत्यु भएको थियो ।  उनीहरुले समयमा उपचार नपाएर मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले गरेको अनुसन्धानबाट खुलेको थियो ।  

सोही प्रकारले नरैननापुर गाउँपालिका–६ सोनवर्षाका एक र जानकी गाउँपालिका–५ बेलहरीका एक जना गरेर थप दुई जनाको पनि पखालाबाट मृत्यु भएको थियो ।  

जिल्लामा ६ जनाको मृत्यु भएको र बिरामी बढ्दै गएको अवस्थामा नेपालगन्ज र नरैनापुरमा विशेष सतर्कता अपनाउन थालिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।  सोही क्रममा नरैनापुरका दुईवटा स्वास्थ्य संस्थामा छुट्टै वार्ड स्थापना गरिएको जनाईएको छ ।  

भेरी अस्पतालमा यसअघि नै झाडापखालाका बिरामीका लागि छुट्टै उपचार कक्ष सञ्चालनमा ल्याइसकिएको भेरी अस्पतालका सूचना अधिकारी डा. सङ्केतकुमार रिसालले बताउनुभयो ।  

चिकित्सकहरुका अनुसार मौसम परिवर्तनसँगै जिल्लाका बिभिन्न स्थानमा झाडापखालाका बिरामी बढ्न थालेका छन् ।  मौसम परिवर्तन, खानपिनमा समस्या, पानीको स्रोत दूषित हुनु, खुला दिसा गर्ने परम्परा, पानी निर्मलीकरण नगरी पिउनुलगायतका कारणले झाडापखाला हुने गरेको चिकित्सकहरुको भनाइ छ ।