• २३ भदौ २०८१, आइतबार

पूर्वी युक्रेनको नोवोरोडिभ्का नगर रूसी कब्जामा

blog

मस्को, भदौ २३ गते । रूसी सेनाले आइतबार पूर्वी युक्रेनको एक नगर कब्जामा लिएको जनाएको छ । रूसी सेना रणनीतिक शहर पोक्रोभ्स्कलाई आफ्नो नियन्त्रणमा लिन अघि बढिरहेको छ ।

सेनाले पोक्रोभ्स्क शहरबाट करिब २० किलोमिटर टाढा रहेको डोनेट्स्क क्षेत्रमा पर्ने ‘नोवोरोडिभ्का क्षेत्रलाई ‘मुक्त गराएको’ रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सन् २०२२ को फेब्रुअरीमा रूसी आक्रमण सुरु हुनुअघि यस नगरका १४ हजारभन्दा बढी बासिन्दा रहेको सरकारी तथ्याङ्कले देखाएको छ ।

रूसी सैनिकहरू अब रसदका लागि महत्त्वपूर्ण मानिने पोक्रोभ्स्कको  नजिकै अघि बढिरहेका छन् ।

अगष्ट ६ मा कुस्र्क क्षेत्रमा युक्रेनले अचानक सीमापार आक्रमण गरे तापनि मस्कोले डोनेट्स्कमा निरन्तर आफ्नो पकड जमाइराखेको छ ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा ३० महिना लामो युद्धपछि आफ्नो मुख्य उद्देश्य डोनेट्स्कसहित पूर्वी डोनबास क्षेत्र कब्जा गर्नु रहेको बताउनुभएको छ । रासस/एएफपी