• २३ भदौ २०८१, आइतबार

पोखराका दुई इन्जिनियरलाई आठ महिना कैद

blog

लेखनाथ, भदौ २३ गते । घुससहित पक्राउ परेका पोखरा महानगरपालिकाका इन्जिनियरसहित तीन जना दोषी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीशद्वय खुसीप्रसाद थारु र रितेन्द्र थापाको संयुक्त इजलासले इन्जिनियर शिवप्रसाद बराल र सबइन्जिनियर उषाकिरण रोकायालाई शुक्रबार दोषी ठहर गरेको हो । साथै बराल रोकायालाई जनही एक लाख ७५ हजार रुपियाँ जरिवाना र आठ महिना कैद हुने फैसला गरेको सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिनुभयो ।

घरको नक्सापास प्रमाणपत्र दिने क्रममा घुससहित पक्राउ परेका इन्जिनियर बराल, सबइन्जिनियर रोकाया र बिचौलिया सुरज कुँवर दोषी ठहर भएका हुन् । घुस दिन सघाउने कुँवरलाई ८७ हजार पाँच सय जरिवाना र चार महिना कैद हुने फैसला भएको छ । बराल र रोकाया दुवै पोखरा महानगरको नक्सा शाखाका कार्यरत हुनुहुन्थ्यो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले बराललाई गएको चैत २७ गते र रोकायालाई चैत २८ गते पक्राउ गरेको थियो । अख्तियारले अनुसन्धानपछि गत वैशाख २० गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अनुसन्धानका क्रममा घुसबापतको दुई लाख रुपियाँ रकम इन्जिनियर बरालको खातामा गएको देखिएको छ । त्यो रकम जफत गरी उजुरीकर्तालाई फिर्ता गर्न आदेश भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर १० मा बनेको एक घर निर्माण सम्पन्न भएको प्रमाणपत्र दिन इन्जिनियर बरालकै नेतृत्वमा रोकाया र सुरजले घुस लिएका थिए । दुई लाख रुपियाँ लिइसकेर पछि थप डेढ लाख रुपियाँ लिने क्रममा बराल र रोकायालाई अख्तियारले पक्राउ गरेको थियो ।