• २३ भदौ २०८१, आइतबार

नागरिक उड्डयन क्षेत्रलाई सुधार्ने नेपाल एयरलाइन्सले नै होः मन्त्री पाण्डे

blog

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डे भाषा आयोगको नवौं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै ।

काठमाडौँ, भदौ २३ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नागरिक उड्डयन क्षेत्रको सुधार आवश्यक रहेको बताउनुभएको छ । भाषा आयोगको नवौं स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

मन्त्री पाण्डेले नागरिक उड्डयनको क्षेत्रलाई सुधार्ने नेपाल एयरलाइन्सले नै भएको बताउनुभयो । उहाँले नेपाल एयरलाइन्स सशक्त र प्रभावकारी नभएसम्म अन्य कुरामा सुधार हुन नसक्ने जिकिर गर्नुभयो ।

मन्त्री पाण्डेले मन्त्रालयको बारेमा सम्पूर्ण जानकारी पाइसकेको र आफूले बुझेको भन्दै अब रिफर्मको सुरुवात कहाँबाट गर्नुपर्छ भन्ने कुरा बुझिसकेको बताउनुभयो । सत्य र निष्ठाबाट विचलित नभ नीतिगत सुधारको बाटोबाट मन्त्रालयलाई अघि बढाउने जानकारी उहाँले दिनुभयो ।

भाषाहरुको संरक्षण, संवर्द्धन र विकासबाट नेपालको बहुसांस्कृतिक पक्षलाई बलियो र समृद्ध बन्ने बताउनुभयो । उहाँले संस्कृति, पर्यटन र नागरिक उड्डयन सुधारको दिशामा जानुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

यसैगरी, भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले भाषाको मूल जरो उत्पादन भएको बताउनुभयो । उहाँले संस्कृति पनि भाषामै अड्किएको जिकिर गर्नुभयो । भाषा नरहे संस्कृति नरहने बताउनुहुँदै भाषा बिना संस्कृतिको मौलिकता हराउने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘‘भाषाको मूल जरो हो उत्पादन पद्धति । संस्कृति पनि त्यसैमा अडिएको हुन्छ । त्यही संस्कृतिको एउटा भाग भाषा पनि हो । हामी हाम्रो उत्पादन पद्धति समाप्त पार्छौं भने हाम्रो संस्कृति पनि रहँदैन । हाम्रो संस्कृतिको मौलिकता पनि हराउँछ । हाम्रो भाषा पनि हराउँछ ।’’

अध्यक्ष ठाकुरले भाषा सर्वेक्षण गहिराइमा पुगेर गर्नुपर्ने बताउनुभयो । भाषा आयोगले गरेका सिफारिसलाई कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।