• २० असोज २०८१, आइतबार

प्राथमिकताले गाँजेको समाज

blog

नेपालीमा प्राथमिकता अनि अङ्ग्रेजीमा ‘प्रायोरिटी’ । प्राथमिकता भन्नेबित्तिकै सबैले जान्नैपर्ने, सिक्नैपर्ने, सुन्नैपर्ने, गर्नैपर्ने, बुझ्नैपर्ने कुराको लस्करमा पहिलो स्थान प्राप्त गर्नेलाई सम्झनु पर्छ । पहिलोबाट दोस्रोमा पुग्ने वित्तिकै त्यो प्राथमिकतामा पर्दैन । कसैले तपाईंलाई ‘एकछिन कुर्नुस्’ भन्छ भने तपाई प्राथमिकता होइन । त्यहाँ तपाई भन्दा महत्वपूर्ण अरू नै छन् । चित्त नदुखाउनु होला । हेर्नुस् मैले पनि चित्त दुखाएको छैन, मलाई थाहा छ मेरो यो लेख पनि धेरैको प्राथमिकतामा परेको छैन । प्राथमिकतामा पर्न त धेरै मेहनत गर्नु पर्छ । हुन त आजभोलि प्राथमिकता पाउने विभिन्न उपायको विकास भइसकेको छ । डिजिटल टेक्नोलोजीदेखि, फिजिकल हेलोप्याथी र द्रव्योलोजी सबै यस्तैमध्येका केही उपाय हुन् ।

डिजिटल टेक्नोलोजी अन्तर्गत प्राथमिकता पाउन तपाईंले कम्तीमा पनि मन्त्री स्तरको नेतालाई चिनेको हुनु पर्छ । आफ्नो काम फत्ते पार्न मन्त्रीको फोनले तपाईलाई प्राथमिकतामा पार्छ । यस्तो गजबको फोन सञ्चार नै डिजिटल टेक्नोलोजी हो । फिजिकल हेलोप्याथीमा तपाईंको सामना तिनै मन्त्री अनि नेताका झोले ‘डन’ सित हुन जान्छ । अब उनीहरूका अगाडि कसको के ताकत, त्यसैले उनीहरू सधैँ प्राथमिकतामा । अर्को उपाय गोल्डेन द्रव्योलोजी सबैभन्दा प्रभावकारी उपाय हो प्राथमिकतामा पर्ने । एयरपोर्टमा पाइने सुनको सिक्का होस् या खल्तीमा भरिएको नोटका बिटा होस्, यसको प्रयोग गर्नु, उच्चतम प्राथमिकता पाउनु हो । माथि वर्णन गरिएका बाहेक अरू कुनै उपाय छन् भने मलाई बताउनु होला म अर्को लेखमा समावेश गर्ने प्रयास गर्ने छु । विश्वास गर्नुहोस् तपाईं अवश्य पनि मेरो प्राथमिकतामा पर्नु हुने छ ।

समय र स्थान अनुसार प्राथमिकता पनि विभिन्न प्रकारको हुने रहेछन् । मेरो बुझाइमा तीन प्रकारका प्राथमिकता परेका छन्–व्यक्तिगत प्राथमिकता, दलीय प्राथमिकता र राष्ट्रिय प्राथमिकता । 

व्यक्तिगत प्राथमिकता : यो तपाईं र मेरो प्राथमिकता हो । यहाँ तपाईं र मेरा व्यथा छन्, कथा छन्, गुनासा छन् । मित्रको प्राथमिकता सूचीमा नपरेको म कहाँनेर, कता र कहिले आफू प्राथमिकतामा परिन्छ भनेर भड्किएका अवस्था छन् । बिहान उठ्न साथ चियाको कपलाई प्राथमिकतामा पार्दै अफिस पुग्दा हाकिमको हुकुमलाई प्राथमिकता दिनु तपाई र मेरो दैनिकी हो । दिनभरिको व्यस्ततामा जुनबेला, जस्तोबेला अनि जहाँ कहिँ पनि श्रीमतीजीको आदेश पालना गर्नु प्राथमिकता माथिको अर्को प्राथमिकता हो । यस्ता प्राथमिकताबाट भलिभाँती परिचित तपाईं र म हरेक दिन आआफ्नै प्राथमिकतामा अल्झिरहेका हुन्छौँ । कहिले छोराछोरीलाई स्कुल पुर्‍याउने प्राथमिकता त कहिले श्रीमतीलाई बजार डुलाउने प्राथमिकता । 

दलीय प्राथमिकता : नेता चयन को विषयदेखि लिएर सत्ता साझेदारीमा कुन दलसँग सम्झौता गर्ने दलिय प्राथमिकताका कुरा हुन् । आफूले खोजेको कुर्सी नपाए सडकमा उत्रेर नाराबाजी गर्दै हिँड्नु पनि दलीय प्राथमिकता भित्रै पर्छ । विपक्षी दलको प्रगतिमा सधैँ विरोधको आवाज उठाउनु पनि दलीय प्राथमिकता हो । दलभित्र प्राथमिकतामा परेका नेताहरूले दलको रूपरेखा नै परिवर्तन गरेको हामीले देख्दै सुन्दै आइरहेको हो । यस अर्थमा भन्नु पर्दा दलीय प्राथमिकता व्यक्तिगत प्राथमिकताबाट मुक्त छैन ।

राष्ट्रिय प्राथमिकता : राष्ट्रको हक हेतु आइपर्ने सम्पूर्ण कुरा नै राष्ट्रिय प्राथमिकता हो । दलीय प्राथमिकताले राष्ट्रिय प्राथमिकतालाई सधैँ प्रभाव पारिरहेको हुने सर्वविदितै हो । यसरी हेर्दा सिङ्गो राष्ट्रको प्राथमिकतामा व्यक्तिगत प्राथमिकता गासिन पुग्छ । यसका उदाहरण विगतमा पनि प्रशस्तै भेटिएका थिए र अहिले पनि दिनहुँ भेटिन्छन् । 

प्राथमिकताका सबै प्रकार थाहा पाइसके पछि म जस्तै तपाईं पनि विश्वस्त हुनु भयो होला, यो संसार आखिर व्यक्तिगत स्वार्थ सिद्ध गर्न दौड लगाइरहेको छ । व्यक्तिकै प्राथमिकता महत्वपूर्ण छन् । दल, वर्ग, समाज अनि राष्ट्रको कसलाई परवाह । सबै आआफ्नै दुनो सोझ्याउन तल्लीन छन् । 

अफिसभित्र ओहोदा अनुसारको प्राथमिकता, अफिसबाट निस्कने बित्तिकै घरको आवश्यकता प्राथमिकतामा पर्ने म जताततै प्राथमिकताको लस्कर देख्छु । कतै पिछडिएका वर्गलाई प्राथमिकता त कतै धनी वर्गलाई । कतै जातीय प्राथमिकता देखिन्छ भने कतै प्रान्तीय । कतै सुकुमवासीलाई प्राथमिकतामा राखिन्छ त कतै हुकुमवासीलाई । अझ यी सबैभन्दा ठुलो महिला प्राथमिकता । बसमा बस्ने सिटदेखि लिएर सरकार बनाउने रित पुर्‍याउनसम्म महिला प्राथमिकता महत्वपूर्ण हुने गर्छन् । यी सबै प्राथमिकतामा म कतै पनि पर्दिन अनि उही दुःखेसो दोहोरिन्छ– प्राथमिकता विहीन । 

बाटोमा हिँड्दा मन्त्री, नेताहरूको मोटरलाई प्राथमिकता, सर्वसाधारणलाई भलै घन्टौ ट्राफिक जाममा किन अड्किन नपरोस् । अस्पतालमा पहुँचवालालाई प्राथमिकता, भलै सर्वसाधारणले अकालमै ज्यान किन गुमाउन नपरोस् । भगवान्को मन्दिरमा समेत द्रव्योलोजीलाई प्राथमिकता भलै सर्वसाधारणले घण्टौँ लाइनमा बस्न किन नपरोस् । जागिर खानलाई पनि पहुँचवालालाई प्राथमिकता, भलै सर्वसाधारणका सन्तान रिक्तिएर खाडीतिर लागुन् । अफिसतिर प्रमोसन पाउने पनि तिनै प्राथमिकताका उपाय अपनाउने, भलै सर्वसाधारणले एउटै पदमा अवकाश लिन किन नपरोस् । समय, स्थान र अवस्था अनेक तर प्राथमिकताका उपाय सधैँ उही डिजिटल टेक्नोलोजी, फिजिकल हेलोप्याथी अनि गोल्डेन द्रव्योजोली । कहिलेकाहीँ म आफैँलाई गाली गर्न पुग्छु, यत्रा विधि उपाय हुँदाहुँदै पनि कुनैलाई प्रयोग गर्ने सामथ्र्य नहुँदा । मेरो जस्तो अवस्था तपाइहरूको पक्कै छैन होला । 

अब एकै छिन अन्तर्राष्ट्रिय स्तरका प्राथमिकताका कुरा गरौँ । उपाय यहाँ पनि तिनै लागु हुन्छन् । फरक केवल त्यसको सङ्ख्यामा हुँदो रहेछ । व्यक्तिगतदेखि राष्ट्रिय तहसम्म पुग्दा तुलनात्मक रूपमा थोरै सङ्ख्यामा प्रयोग भएका कुरा अन्तर्राष्ट्रिय स्तरमा पुग्दा ठुलो सङ्ख्यामा परिणत हुन पुग्छन् । अनि त्यही अनुसारको प्राथमिकता हुन्छ । युरोपेली समुदायले व्यापार गर्न अमेरिका र अन्य विकशित देशलाई नै प्राथमिकतामा राख्छ । नासालाई अफ्रिकाको भोकमरीको के वास्ता उसका लागि त अर्बाैं खर्चेर अन्तरिक्षमा यान पठाउनु नै प्राथमिकता हो । पाकिस्तान र भारतको एजेन्डामा कश्मिर सधैँ प्राथमिकतामा पर्छ भने इजरायललाई प्यालेस्टाइन प्राथमिकता भइदिन पुग्छ । 

इतिहासका पाना पल्टाएर हेर्ने हो भने हाम्रो देशमा पनि थुप्रै प्राथमिकताका उदाहरण भेटिन्छन् । जङ्गबहादुरले गद्दीलाई प्राथमिकतामा राख्दा कोत पर्व हुन पुग्यो । गणतन्त्र नै हाम्रो प्राथमिकता भनेर दौड्दा १७ हजारको नम्बर गन्नु पर्ने बाध्यता आइलाग्यो । नारायणहिटीको दुर्दशा पनि प्राथमिकताकै परिणाम हो । भूकम्पले चिरा परेका सम्पदा बन्न नसक्नु आफ्नो खल्ती प्राथमिकतामा परिदिनाले हो भन्ने कुरा सर्वविदितै छ । 

  

Author

उमेश रेग्मी